काठमाडौं– बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाहजाहन कमल काठमाडौं आएका छन्। सोमबार भएको युएस बांगला विमान दुर्घटनापछि बंगलादेश सरकारका तर्फबाट यहाँको स्थिति अवलोकन तथा बंगाली पीडित नागरिकहरुको संयोजन गर्न उनी नेपाल आएका हुन्।
बंगलादेशको नागरिक उड्डयन प्राधिकरणका निर्देशकसहित मन्त्री कमल विमान बंगलादेश एयरलाइन्सबाट मध्यान्ह काठमाडौं उत्रिएका हुन्।
यसअघि युयस–बांगला एयरलाइन्सको विमानमार्फत प्रमुख कार्यकारी अधिकृत इमरान आसिफको संयोजकत्वमा ७ सदस्यीय एयरलाइन्सको टोली आजै बिहान ११ बजेर १० मिनेटमा नेपाल आइपुगेको थियो। सो विमानमा दुर्घटनामा ज्यान गुमाएका तथा घाइते बंगलादेशी नागरिकका ४६ जना आफन्त पनि आएका छन्।
मन्त्री कमलसहितको टोलीले आजै विभिन्न अस्पतालमा पुगी घाइतेहरुको अवस्थाबारेमा जानकारी लिनेछ। युएस–बांगला एयरलायन्सको टोलीले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारीहरुसँग भेट गर्ने बताइएको छ।
मन्त्री कमलले नेपालका कुन–कुन उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नेछन् भन्ने खुलाइएको छैन। उनले मृत्यु भएका बंगाली नागरिकको शवलाई स्वदेश लैजाने सम्बन्धमा नेपाली सरकारी अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ।
नर्भिक अस्पतालमा उपचाररत विमानका पाइलट अबिद सुल्तानको आज मृत्यु भएको छ। उनीसँगै विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ।
चालक दलका ४ सदस्यसहित ७१ यात्रु बोकेर ढाकाबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सोमबार युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको थियो।
यसैबीच, आइतबार ४ दिनको औपचारिक भ्रमणका लागि सिंगापुर पुगेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भ्रमण छोट्याएर बंगलादेशका लागि प्रस्थान गरिसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।