काठमाडौं- डा गोविन्द केसीले आजबाट सुरु गर्ने भनेको आमरण अनसन ४ गतेका लागि सारेका छन्।
त्रिभुवन विमानस्थलमा सोमबार भएको विमान दुर्घटनामा डाक्टरसहित ५० को मृत्यु भएपछि डा केसीले अनसनको मिति सारेका हुन्।
‘यस शोकको घडीमा हामीले आजदेखि सुरु गर्ने भनेको सत्याग्रहको कार्यक्रम स्थगित गरेका छौं’, उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा मागहरु पूरा नभएको खण्डमा आगामी चैत ४ गतेदेखि सत्याग्रहको कार्यक्रम पुनः सुरु गर्ने पनि घोषणा गर्दछौं।’
याे पनि पढ्नुहाेस् - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन्?
डा केसीको विज्ञप्ति-
यही फागुन २८ गते त्रिभुवन विमानस्थलमा भएका त्रासद विमान दुर्घटनामा परी हाम्रा सहकर्मी चिकित्सकलगायत धेरै जनाको मृत्यु भएको घटनाले हामीलाई आहत तुल्याएको छ। यो दुखको घडीमा दिवंगत सबैप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँहरुका परिवारजनलाई धैर्य धारण गर्न क्षमता मिलोस् भन्ने कामना गर्दछौं।
यस शोकको घडीमा हामीले आजदेखि सुरु गर्ने भनेको सत्याग्रहको कार्यक्रम स्थगित गरेका छौं। हाम्रा मागहरु पूरा नभएको खण्डमा आगामी चैत्र ४ गतेदेखि सत्याग्रहको कार्यक्रम पुनः शुरु गर्ने पनि घोषणा गर्दछौं।
साथै यसैबीच सर्वोच्च अदालतका सम्मानित न्यायधीशहरुले भ्रष्ट र विवदित प्रधान न्यायाधीश गोपाल पराजुलीलाई पद छाड्न सुझाव दिएकोमा त्यसको स्वागत गर्दछौं। साथै गोपाल पराजुलीको कार्यकाल महिनौंअगाडि सकिए पनि निज नैतिकता, मर्यादा र कानुनविपरीत अहिलेसम्म पदमा रहेको भनेर सर्वोच्च अदालतबाटै आएको आदेशले पनि हामीले बारम्बार भन्दै आएको कुरालाई पुनः पुष्टि गरेको छ।
पराजुलीले सिर्जना गरेको विवादका कारण बन्धक बन्न पुगेको न्यायालयले बाँकी न्यायधीशहरुको सुझबुझ र उचित निर्णयको बलमा यो संकट पार गर्नेछ र आफ्ना सबै गलत कामहरुका लागि पराजुली जवाफदेही बनाइनेछन् भन्ने विश्वास पनि हामीले लिएका छौं।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।