काठमाडौं- नेपाल धितोपत्र बोर्डको नयाँ संचालक समिति अध्यक्षका लागि ८ जनाले आवेदन दिएका छन्। बोर्डले २ महिनादेखि रिक्त रहेको बोर्डको अध्यक्षको पदपूर्तिका लागि मंसिर ६ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो।
बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ बमोजिम खुल्ला प्रतियोगिताबाट अध्यक्ष छनौटका लागि १५ दिने सार्वजनिक सूचना निकालेकोमा यो अवधिमा ८ जनाको आवेदन परेको हो।
यसअघिका अध्यक्ष डा रेवतबहादुर कार्की गतअसोजमा आफ्नो ४ वर्षे कार्यकाल सकेर बोर्डबाट बिदा भएका थिए। कार्की बोर्डबाट बिदा भएसँगै अर्थमन्त्रालयले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। राजश्व सचिव शिशिरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य समितिमा सदस्य छन्।
बोर्डको भावी अध्यक्षका रुपमा पूर्वानुमान गरिएका २ जनाले भने आवेदन दिएनन्। बोर्डको भावी अध्यक्षका रुपमा हेरिएका नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका पूर्वअध्यक्ष टंक पनेरु र नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले आवेदन नै दिएनन्।
यस्ता छन् ८ जना आकांक्षी
भीष्मराज ढुंगाना
अध्यक्षका लागि बलियो दाबेदार भीष्मराज ढुंगाना नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही समयअघि मात्रै अवकाश पाएका व्यक्ति हुन्। केही महिनाअघि मात्रै अर्थमन्त्री डा युवराज खतिवडाले ढुंगानालाई बोर्डको विज्ञ सदस्यका रुपमा मनोनयन गरेका थिए। त्यतिबेला नै उनलाई भावी अध्यक्षका रुपमा हेरिएको थियो।
निरज गिरी
विसं २०७२ सालमा परिष्ट पौडेल र निरज गिरी बोर्डको कार्यकारी निर्देशक बनेका थिए। त्यसभन्दा अघि बोर्डमा कार्यकारी निर्देशक भन्ने पद नै थिएन। तर बोर्डले नयाँ पद सिर्जना गरी पौडेल र गिरीलाई निर्देशकबाट कार्यकारी निर्देशक बनाइएको थियो। गिरीले नियमन र प्रशासन हेर्ने जिम्मेवारी पाएका थिए। बोर्डमा कार्यकारी निर्देशकका रुपमा सात वर्षको कार्यकाल सकिन गिरीको अढाइ वर्ष अझै बाँकी छ।
सिताराम थपलिया
थपलिया २०७० असारमा नेपाल स्टक एक्चेन्जको महाप्रबन्धक नियुक्त भएका थिए। थपलिया इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष र कृषि विकास बैंकको संचालक समितिमा रहेर काम गरिरहेका छन्। हालका गभर्नर चिरंजिवी नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुँदा थपलिया विज्ञ सदस्यका रुपमा संचालक समितिमा थिए।
निल सारु मगर
मगर पनि बोर्डका पूर्व विज्ञ सदस्य हुन्। पेशाले चार्टर्ड एकाउन्टेन्ट उनी विज्ञ सदस्यको कार्यकाल सकिएपछि केही समयअघि मात्रै बोर्डबाट बाहिरिएका थिए। उनीहरुबाहेक बोर्डका निमित्त कार्यकारी निर्देशक डा नवराज अधिकारी र ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापति पनि प्रतिस्पर्धामा छन्। यस्तै डा केशवप्रसाद श्रेष्ठ र डा बलराम पाठक पनि प्रतिस्पर्धामा उत्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।