काठमाडौं- पुष्पा भण्डारीले १३ औँ सागको म्याराथनमा रजत पदक जितिन्। ४२ किलोमिटरको दुरी उनले २ घन्टा, ५० मिनेट ११ सेकेन्डमा पूरा गरिन्। जुन उनले सबैभन्दा छिटो दौड पूरा गरेको समय हो। र, साग खेलकुदको म्याराथनमा महिला खेलाडीको तर्फबाट पहिलो पदक।
पुष्पाभन्दा अघि श्रीलंकाकी हिरुनी केसराले २ घन्टा ४१ मिनेट २४ सेकेन्डमा दुरी पूरा गरिन्। पुष्पाले हिरुनीभन्दा ९ मिनेटपछि दुरी पूरा गरेर कान्छिमाया कोजुको २ घण्टा ५५ मिनेट ५७ सेकेण्डको राष्ट्रिय कीर्तिमान पनि तोडिन्।
यसअघि पुष्पाले आठौँ राष्ट्रिय खेलकुदमा ३ घन्टा ६ सेकेन्डमा दौड पूरा गरेकी थिइन्। आठौंका बेला दोस्रो भएकी उनले साग खेलकुदमा देखाएको खेलले उनीभन्दा बढी खुसी छन् उनका गुरु धनिराम चौधरी र रबिन कुमार राई।
गुरु धनिराम जसले उनलाई राष्ट्रिय टिममा राखेर निरन्तर दौडका लागि तयार बनाए। पुष्पा आफैले ‘मैले सक्दिनँ कि!’ भन्ने सोचिरहँदा ‘तिमीले सक्छौ’ भनेर हौसलासँगै अभ्यास गराए।
गुरु रबिनले त पुष्पालाई घरगाउँलेले खेलकुदमा लाग्न तगारो हालिरहँदा त्यसलाई भत्काउने काम गरे। उनलाई म्याराथन प्रतियोगिताहरुमा सहभागी गराउन आफैले लिएर हिँडे।
यसैले पुष्पाले रजत पदक जितेपछि गुरु रबिनका आँखा टिलपिलाएका हुन्।
पुष्पालाई पदक जितेको यो खुसीको क्षणमा पनि सम्झनामा आइरहेको छ- ‘छोरीले खेल्न हुँदैन’ भन्दै उनीभित्रको इच्छालाई मारिएको।
सल्यान माल्नेटामा हुर्किएकी उनले पहिले त आफ्नो दाइले जस्तै कराते खेल्न खोजेकी हुन्। तर ‘छोरी मान्छे भएर यसरी खेलकुदमा लाग्न हुँदैन’ भनेर उनलाई परिवारबाटै रोकियो। करातेमा देखेको सपना पूरा नहुने भएपछि उनी दौडन थालिन्।
‘मेरो दाइ करातेको खेलाडी हुनुहुन्छ। उहाँले खेलबारे त कुरा गरिरहनुहुन्थ्यो। तर पनि केटी मान्छे खेलमा लाग्नु हुँदैन भनेर मलाई घरबाट खेल्न जान दिनु हुँदैन थियो। त्यो बेला छोरी मान्छेले खेल्न हुँदैन भनेर मेरो कराते सिक्ने इच्छा मारियो’ पुराना दिन सम्झिँदै पुष्पाले भनिन्।
करातेमा खेल्न नदिएपछि उनको मनमा अरु कुनै खेलकुदमा लाग्न पाए हुन्थ्यो भन्ने परिरह्यो। तर पनि गाउँठाउँमा सजिलो भने थिएन। ‘छोरी मान्छे खेल्न भन्दै बाहिर हिँड्न हुँदैन भन्थे। त्यस्तो बेला मलाई बुबाले भने समर्थन गर्नुभएको हो। मेरो जिल्लाको गुरु रबिन कुमार राईले पनि हौसलासँगै अरुलाई सम्झाउने काम पनि गरिदिनुभयो’, पुष्पाले सुनाइन्।
गाउँमा आफ्नै सुरमा दौडँदै गरेकी उनी २०६८ सालमा धनगढीमा भएको छैठौँ राष्ट्रिय खेलकुदमा सहभागी भइन्। १५ वर्षको उमेरमा राष्ट्रिय प्रतियोगितामा दोस्रो भएर उनले पदक त पाइन् तर सोचेको सफलता पाइनन्।
‘अहिले सम्झँदा म्याराथनमा १५ वर्षकी केटी दोस्रो हुनु सानो कुरा थिएन जस्तो लाग्छ। तर पनि म गाउँमा नै हराएँ। कुनै क्लबले या राष्ट्रिय टिममा राखिदिएको भए यो भन्दा राम्रो हुन्थ्यो जस्तो लाग्छ। गाउँमा बसिरहँदा पनि मनमा एउटा ईख थियो। पिर पनि थियो’ उनले सम्झिइन्।
राष्ट्रिय खेलकुदमा दोस्रो भएकी उनी न त कुनै विभागीय क्लबको नजरमा परिन् न त राष्ट्रिय टिममा नै पर्न सकिन्। यसैले उनलाई लाग्यो- ‘खेलकुदबाट हुँदैन, अब मैले पढेर नै केही गर्नुपर्छ।’
सल्यानमा नै घरमा बसेर उनले १२ कक्षा पास गरिन्। दौड लगभग छुटिसकेको थियो। यो कुरा गुरु रबिन कुमार राईलाई चित्त परेन। उनलाई क्षमता भएकी एक खेलाडी यसै पछि परिरहेकी छ भन्ने लाग्यो। तब आफ्नै गाउँकी छोरीलाई खेलाउनै पर्छ भनेर उनले प्रतियोगिताहरुमा सहभागी गराउन लैजान थाले। गाउँलेले ‘छोरी मान्छेलाई बाहिर खेलाउन लिएर हिँड्ने कस्तो...’ भनेर जतिनै मनोबल घटाए पनि पुष्पाको क्षमता देखेका गुरु रबिन रोकिएनन्।
‘खेलेर नहुँदो रहेछ, पढेरै केही गर्नुपर्छ भनेर लागिरहँदा मेरो जिल्लाकै गुरु रबिन कुमार राईले तिमीले सक्छौ, तिमी दौडिनुपर्छ भनेर हौसला दिनुभयो’ गुरुतिर हेर्दै पुष्पाले भनिन्।
रबिनले नै अभ्यास गराएर ०६९ सालमा लुम्बिनि च्याम्पियनसिपमा खेलाउन लगे। त्यहाँ पुष्पा पहिलो भइन्। लुम्बिनि च्याम्पियनसिप जितेपछि नै एपिएफले उनीसँग करार सम्झौता गरेर क्लबमा आबद्ध गराएको हो। एपिएफमा आएपछि त अभ्यास पनि नियमित भयो।
‘उ पहिलेदेखि नै लगनशील हो। असाध्यै मेहनत गथ्र्यो। उसको मेहनत देखेर नै मैले उसले सक्छ भन्ने ठानेको थिएँ। त्यही देखेर नै मैले उसलाई दौडिनु पर्छ भनेर भनिरहेँ। अहिले त पहिला भन्दा धेरै राम्रो भएको छ,’ पुष्पाबारे रबिन भन्छन्, ‘मैले उसलाई जिल्ला क्षेत्र सबैतिर दौडाउन आफैले पनि पैसा हालेर लिएर हिँड्थे। पैसा भन्दा ठूलो त इज्जत र सन्तुष्टी नै हुने रहेछ। अहिले त्यो सन्तुष्टी पाएको छु।’
पुष्पाले खेल्न सुरु गरेदेखि म्याराथनमा खेलेकाले पहिले उनको ‘स्पीड’ राम्रो थिएन। उनलाई लाग्छ- ‘पहिलो पाँच हजार मिटर दौडमा सहभागी भएर म्याराथनमा आएको भए स्पीड राम्रो हुने थियो।’
तर सानो उमेरदेखि नै म्याराथनमा लागेकी उनले अरुतिर सोच्दै सोचिनन्। गुरुहरुले पनि भन्थे- ‘तिमीले म्याराथनमा मात्रै खेलेकाले स्पीडमा विकास हुँदैन।’
उनी आफैलाई पनि मैले सक्दिनँ कि भन्ने लागिरहन्थ्यो। ‘मेरो हाइट सानो छ अलि मोटो पनि छु, सक्दिन होला भन्ने सोचिरहँदा धनिराम गुरुले त्यो सबै कुरा मनबाट निकालेर अभ्यास गर सक्छौ भन्नुभएको थियो’ पुष्पा सम्झिन्छिन्, ‘उहाँको हौसला र ट्रेनिङले नै म खारिएँ।’
२४ वर्षकी पुष्पा अहिले एपिएफमा प्रहरी परिचरको जागिरमा पनि छिन्। एपिएफमा स्थायी नै भएको पनि एक वर्ष भयो।
सागमा म्याराथनमा महिलातर्फ नेपालकै पहिलो पदक हो भन्दा पुष्पामा खुसी अझ थपिएको छ। भन्छिन्- ‘राष्ट्रिय प्रतियोगिताहरुमा त पदकहरु जितेकै थिएँ। त्यहाँ आफ्नैहरुसँग प्रतिस्पर्धा हुन्थ्यो। यो अन्तर्राष्ट्रिय स्तरमा देशका लागि पदक जित्न पाउँदा त निकै खुसी लागेको छ।’
नेपालका लागि पदक दिलाउँदाको खुसी पुष्पाले शब्दमा ब्याख्या गर्न सकिरहेकी छैनन्। व्यक्तिगत समयमा पनि सुधार गरेर कान्छीमायाको राष्ट्रिय कीर्तिमान तोड्दा अझ बढी खुसी लागेको छ।
उनी भन्छिन्- ‘अब ओलम्पिकसम्म खेल्न जाने लक्ष्य छ। हेरौँ के हुन्छ। म मेहनत गरिरहने छु। अहिले त घरबाट पनि राम्रो सहयोग छ। जितिरहेकी पनि छु नि त।’
पुष्पाको खेलले गुरु धनिराम पनि असाध्यै खुसी छन्। ‘उनले राम्रो गरेकी हुन्। राष्ट्रियमा दोस्रो आएकी खेलाडी सागमा यो स्तरमा पुग्नु निकै राम्रो हो। नेपाली खेलाडीको मेडल नै नभएको महिला म्याराथनमा पुष्पाको मेडलले ठूलो महत्व राख्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।