हैदराबाद- भारतको हैदरावादमा महिला डाक्टरको बलात्कारपछि हत्याका चार अभियुक्तको इन्काउन्टरपछि प्रहरीको चौतर्फी स्वागत र आलोचना दुवै भएको छ। डाक्टरलाई बलात्कारपछि जलाएर मारिएकै स्थानमा चारै अभियुक्तलाई प्रहरीले गोली हानी मारेको थियो।
अभियुक्तलाई ‘सिन रिक्रिएसन’ का लागि लैजाँदै गर्दा आरोपीहरुले प्रहरीमाथि नै आक्रमण सुरु गरेपछि भिडन्त भएको र त्यसक्रममा उनीहरु मारिएको दाबी हैदरावाद प्रहरीले गरेको छ।
पछिल्लो १० वर्षमा हैदरावाद प्रहरीले गरेको यो तेस्रो इन्काउन्टर हो। यसअघि सन् २००८ र २०१५ मा प्रहरीले यस्तै इन्काउन्टर गरेको थियो। सन् २००८ मा पनि शुक्रबार नै यस्तो घटना भएको थियो। उक्त घटना र यो घटनामा धेरै समानता देखिन्छ।
२००८ को घटना
सन् २००८ मा तेलंगनाको बारंगलमा प्रहरीले यस्तै सिन रिक्रिएशनका लागि लैजाँदै गर्दा एसिड आक्रमणका तीन अभियुक्तलाई मारेको थियो। त्यसबेला पनि तीन अभियुक्तले प्रहरीमाथि आक्रमण गरे र जवाफी कारबाही गर्न बाध्य भएको प्रहरीले बताएको थियो।
डाक्टर बलात्कार मुद्दालाई हेरिरहेका साइबरावादका प्रहरी कमिश्नर भिसी सज्जनार नै त्यसबेला वारंगलका एसपी थिए। उक्त घटनापछि एसिड आक्रमणका अभियुक्तहरुले प्रहरीमाथि बन्दुक र चक्कुले हमला गरेको दाबी प्रहरीले गरेको थियो।
प्रहरीका अनुसार सन् २००८ मा एसिड आक्रमणकारीहरुलाई उनीहरुले मोटरसाईकल लुकाएको ठाउँमा लैजाँदै गर्दा लुकाएर राखेको बन्दुक र चक्कुले प्रहरीमाथि नै आक्रमण गरेकाले बाध्य भएर गोली चलाउन परेको प्रहरीले दाबी गरेको थियो।
२००८ मा बारंगलका एक इन्जिनियरिङ कलेजका दुई छात्रामाथि सँगै पढ्ने दुई जनाले एसिड फ्याँकेको आरोप लागेको थियो। एसिड आक्रमणमा दुई युवती गम्भीर रुपमा घाइते भएका थिए।
प्रेम प्रस्ताव अस्वीकार गरेका कारण उनीहरुमाथि एसिड आक्रमण गरेको बयान उनीहरुले दिएका थिए। दुवै पीडितको केही समयको अन्तरालमा मृत्यु भएको थियो। उनीहरुको मृत्युपछि भारतभर आन्दोलन भएको थियो।
हैदराबाद मामला र २००८ मा भएको इन्काउन्टरपछि प्रहरीमाथि निकै प्रश्न उठ्यो। सामाजिक सञ्जालमा इन्काउन्टर स्पेशस्लिष्ट सज्जनारलाई हिरो मान्ने र यो कार्य प्रणालीमाथि प्रश्न गर्ने दुवै देखिएका छन्। आलोचना गर्नेहरुको तर्क यस्ता कुरालाई सामान्य रुपमा लिएर काम गर्दा गम्भीर गल्ती हुनसक्ने भन्दै आएका छन्।
को हुन सज्जनार?
बीसी सज्ज्नार इनकाउन्टर स्पेशलिष्टको रुपमा भारतमा चिनिन्छन्। १९९६ ब्याचमा आइपीएस अधिकारी बनेका सज्जनारले तत्कालीन आन्ध्र प्रदेश प्रहरीको विभिन्न विभागको महत्वपूर्ण जिम्मेबारी सम्हालेका थिए। उनी तेलंगना र बारंगल र मेदकमा एसपीसमेत भएका थिए। हाल उनी साइबराबादमा कमिश्नरको रुपमा छन् । २००८ देखि उनी यही पदमा कार्यरत रहेका छन्।
२०१५मा उनले एसपी हुदाँ एक अफिम तस्करको इनकाउन्टर गरेका थिए। ती तस्करमाथि प्रहरी अधिकारीको हत्याको समेत आरोप लागेको थियो। उनले नक्सलवादी नेता नइमुद्दीनलाई पनि मारेको बताइन्छ। नईमुद्दीनलाई उनले आफू आईजी स्पेशल इन्टेलिजेन्स ब्रान्चमा रहेको समयमा मारेका थिए।
बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।