काठमाडौं- बजारमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभागका विभागीय प्रमुख नरबहादुर थापाले यसरी वाणिज्य बैंकले ब्याजदर बढाउनु स्वागतयोग्य रहेको बताएका छन्।
मिडिया इन्टरनेसनलले आयोजना गरेको आर्थिक कार्यक्रममा बोल्दै थापाले भने,‘लामो समयदेखि निक्षेपको उचित प्रतिफल नपाएका संकलनकर्ताको लागि ब्याजदर बढ्नु उचित र स्वागत योग्य छ।’
उनले शुक्रबार नेपाल बैंकर्स संघले एनआइसी एसियालाई अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरेकोतर्फ इंगित गर्दै ब्याजदरलाई नियन्त्रण गर्न नहुने बताएका हुन्। उनले वित्तीय संस्थाहरुबीच स्वस्थ प्रतिस्प्रर्धा हुन आवश्यक रहेको बताए।
उनले भने, ‘प्रतिस्पर्धाको नाममा कुनै पनि सिन्डिकेट लागू हुनु हुँदैन।’
यता, संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले सिस्टेमिक रिक्स (प्रणालीगत जोखिम)लाई व्यवस्थापन गर्न संघले एनआइसी एसिया बैंकलाई अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरेको बताएका छन्।
गत शुक्रबार एनआइसी एसियासहितका २८ वाणिज्य बैंकबीच बचत खाताको ब्याजदर ८ प्रतिशतभन्दा माथि नजाने र एक वर्षे मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको थियो। सहमति लगत्तै एनआइसी एसियाले १० प्रतिशत बचतको ब्याजलाई ८ प्रतिशतमा झारेको थियो। तर, बिहीबारबाट फेरि बचतको ब्याज १० प्रतिशत पुर्याोउँदै मुद्दतीमा १२ प्रतिशत ब्याज दिने सूचना सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।