काठमाडौं- सरकार पुर्नगठन लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए। रघुवीर महासेठ हटाइएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व सम्हाल्न आएका नयाँ मन्त्री वसन्तकुमार नेम्वाङले पनि सडकका खाल्डाखुल्डी पुर्ने प्रतिबद्धता जनाएका थिए।
प्रधानमन्त्रीको निर्देशन र भौतिक पूर्वाधार मन्त्रीको प्रतिबद्धतासँगै सडक मर्मतले तिव्रता पाएको छ। सडक विभागले सडकका खाल्डाखुल्डी पुर्नकै लागि १ अर्ब रुपैयाँ खर्चिने भएको छ। उक्त रकम बजेटमै व्यवस्था भएको र काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका सडक डिभिजन कार्यालयमार्फत खर्च गरिने सडक विभागले जनाएको छ।
प्रधानमन्त्री र मन्त्रीले समेत सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएकाले कामले तिव्रता पाएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए।
‘वर्षायामसँगै रोकिएको सडक मर्मतको काम चाडपर्वसँगै सुरु भइसकेको थियो,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्री ज्यूको समेत यो विषयमा चासो भएकाले कामले थप तिव्रता पाएको हो।’
त्यस्तै प्रधानमन्त्री कार्यलयले काठमाडौंका सडकका खाल्डा पुर्ने कामलाई तिव्रता दिन र अनुगमन गर्न टास्क फोर्स समेत बनाइएको छ। उक्त टास्क फोर्समा प्रधानमन्त्री कार्यालयका सहसचिव संयोजक, ट्राफिक कार्यालय, सडक विभाग, यातायात व्यवस्था विभाग र महानगरपालिकाका प्रतिनिधि सदस्य रहेका छन्।
सडक विभागअनुसार दोस्रो तहको टिमले उपत्यकाका विभिन भागमा घुम्ने र सडकको अवस्था जाँच गर्ने छ। टिम पुगेको कुनै पनि ठाउँमा खाल्डाखुल्डी देखिएमा तत्कालै सडक मर्मत गर्ने टिमलाई खबर गर्छ वा फोटो खिचेर पठाउने छ।
गत साता मात्रै प्रधानमन्त्रीले आगामी चार महिनामा काठमाडौंका सबै खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीकै निर्देशनपछि अहिले उपत्यकाका विभिन्न स्थानका सडकमा खाल्डा-खुल्डी पुर्ने काम तीव्र रुपमा भइरहेको छ।
पिच गर्ने काममा चिसोमा केही समस्या आउन सक्ने भन्दै विभागका महानिर्देशक शर्माले भने, ‘फागुनसम्ममा उपत्यकाका कुनै पनि सडकमा खाल्डाखुल्डी हुने छैनन्।’ खानेपानी, विद्युतको पोलका लागि खनिने बाटो सडक विभागले मर्मत गरेपनि पुनः उनीहरुले खन्ने गरेकाले कतिपय ठाउँमा समस्या देखिएको शर्माको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।