इलाम– विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय गाउँलेलाई सम्झाए पछि अवरुद्ध हुँदै आएको काबेली करिडोर प्रसारण लाइन आयोजनाको सर्भे गर्न दिन देउमाई नगरपालिका–७ सिद्धिथुम्काबासीले सहमति जनाएका छन्। विद्युत प्राधिकरण, आयोजना, देउमाई नगरपालिका र स्थानीय बासिन्दाबीच शनिबार भएको छलफलमा प्रसारण लाइनबाट प्रभावित हुने जग्गा तथा घरधनी, रुखबिरुवा, घरटहरा लगायतका संरचनाको तथ्यांक सर्भेक्षणको काम सुरु गर्ने सहमति जुटेको हो।
सर्वपक्षीय बैठकमा प्रभावितको तथ्यांक यकिन गरी मुआब्जा तथा क्षतिपूर्ति निर्धारण गर्ने र त्यसपछि प्रसारण लाइन निर्माणको काम सुचारु गर्ने निर्णय भएको छ।
प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने जग्गाको सत्प्रतिशत क्षतिपूर्ति दिनुपर्ने, रुट परिवर्तन गर्नुपर्ने लगायतका माग राखी स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गर्दै आएका थिए। स्थानीयको अवरोधका कारण सिद्धिथुम्कामा ११ वटा टावर निर्माण हुन सकेको छैन।
स्थानीयको अवरोधले प्रसारण लाइन बिस्तारको काम हुन नसक्दा पाँचथर र ताप्लेजुङमा निजी क्षेत्रले निर्माण गरिरहेका झन्डै १ सय मेगावाटका आयोजनाहरुको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था छ।
प्रसारण लाइन निर्माणमा अवरोध भएपछि समस्या समाधान गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, प्रसारण लाइन निर्देशनालयका निमित्त बज्रभूषण चौधरी, निर्देशक रञ्जन चालिसे, विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख सचिदानन्द यादवसहितको टोली आयोजनास्थल पुगेको थियो।
छलफलमा कार्यकारी निर्देशक घिसिङले स्थानीयबासीको जायज मागलाई सम्बोधन गर्न तयार रहेको उल्लेख गर्दै राष्ट्रिय महत्वको आयोजनाको काममा अवरोध नगर्न आग्रह गरेका थिए।
घिसिङले प्रसारण लाइनको दायाँ–बायाँ ९÷९ मिटर राइट अफ वेमा पर्ने जग्गाको स्थानीयबासिन्दाको मागअनुसार सत् प्रतिशत क्षतिपूर्ति दिन नसकिने बताएका थिए।
कावेली करिडोर प्रसारण लाइन निर्माण करिब १० वर्षअघि सुरु गरिएको थियो। आयोजनाको निर्माण अगामी असारसम्ममा सक्ने लक्ष्य राखिएको छ। ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको आलटाल जस्ता समस्याले आयोजनाको काम ढिलाइ भएको थियो।
यसैगरी, पाँचथरको फिदिम नगरपालिको जोरसल्ला–थापाटार खण्डको प्रसारण लाइन निर्माण पनि सुचारु गर्ने सहमति भएको छ। त्यसखण्डमा ११ वटा टावर निर्माण गर्न बाँकी छ।
पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण भइरहेको हो। झापा दमकबाट सुरु भएको प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै ताप्लेजुङसम्म पुग्छ। ९० दशलमब २ किलोमिटर प्रसारण लाइनमा २ सय ६३ वटा टावर निर्माण हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।