कैलाली– प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा बिहीबार युवतीलाई कुटपिट गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।
शनिबार धनगढीमा युवाहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले घटनामा संलग्न सबैलाई कारबाही गर्ने भन्दै सबैखाले विभेद, अत्याचार, कुरितीका विरुद्ध प्रदेश सरकारले कडा कानुन बनाउने पनि बताए।
यसैबीच, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले बोक्सीको आरोपमा निर्घात कुटिएर सेती अञ्चल अस्पतालमा उपचाररत राधा चौधरीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। मन्त्री चौधरीले पीडितको उपचारको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने आश्वासन समेत दिइन्।
यस्तै, प्रदेश ७ का प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको भन्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।
‘युवतीलाई कुटपिट गर्ने रामबहादुर चौधरी (भोले)लाई हामीलाई पक्राउ गरिसकेका छौं’ एआइजी नेपालले भने ‘त्यो घटनामा संलग्न अन्य व्यक्तिलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कैलालीलाई निर्देशन दिइसकेको छु।’
एआइजी नेपालले प्रहरीले घटनाको प्रमाणका रुपमा सार्वजनिक भएको भिडियो सुरक्षित राखेको र भिडियोमा कुटपिट गर्न लागेकी महिलाको खोजी कार्य गरिरहेको समेत बताए।
‘यो घटनालाई सार्वजनिक अपराधका रुपमा मुद्दा दर्ता गर्ने पक्षमा प्रहरी छैन’, उनले भने ‘कानुनमै बोक्सी आरोपमा कुटपिट गरेमा सजायको व्यवस्था भएकाले त्यही कसुर अन्तर्गत मुद्दा दर्ता गराउँछौं।’
घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयमा रहेको भए पनि आज जिल्ला अदालतमा मुद्दा दर्ता गराइने भएको छ।
एआइजी नेपालले इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव निरीक्षक दिनेशबहादुर विष्टलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइएको र घटनामा दोषी देखिए कारबाही गरिने बताए। प्रनानि विष्टले घटनाबारे जिल्ला प्रहरी कार्यालयलाई जानकारी नदिनु, पीडकहरुसँग मिलेर घटनामा मिलापत्र गराउनु लगायत कार्य गरेको बताइएको छ।
प्रनानि विष्टले भने घटनामा कुनै मिलापत्र नगराएको दाबी गर्दै घटना भएको दिन आफन्तबाट कुनै उजुरी नआएकाले मुद्दा दर्ता नगरेको बताए।
‘घटनाको भोलिपल्टै दोषी रामबहादुरलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पठाएका हौं’, उनले भने, ‘आफन्तहरुले सार्वजनिक अपराध अन्तर्गत जाहेरी दिएपछि बोक्सीको आरोपमा कुटपिट भनेर जाहेरी दिन भनेर सुझाव दिएका थियौं।’
यद्यपि पीडितका आफन्तजनले घटना भएकै दिन घटनास्थलबाट दुवै पक्षलाई इलाका प्रहरी कार्यालय लगेर पीडकका पक्षमा सहमति गराइएको बताएका छन्।
घोडाघोडी नगरपालिका वडा नम्बर ५, देउकलिया गाउँमा गत बिहीबार बोक्सी भन्दै स्थानीय १८ वर्षीया राधा चौधरीलाई रामबहादुर चौधरी (भोलेबाबा), उनकी सहयोगी 'पार्वती माता' लगायतले निर्घात कुटपिट गरेका थिए। सेती अञ्चल अस्पतालमा उपचार गराइरहेकी राधा मानसिक आघातले विचलित रहेको डाक्टरहरुले बताएका छन्।
सम्बन्धित समाचार:
'बोक्सी'को आरोपमा राधामाथि बर्बर यातना, गाउँलेसँगै प्रहरी पनि मूकदर्शक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।