काठमाडौं– नेपाल बैंकर्स संघले एनआइसी एसियालाई अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरेको छ। संघको शुक्रबार बसेको आकस्मिक बैठकले सहमति विपरीत ब्याजदर बढाएर बैंकिङ प्रणालीमा समस्या सिर्जना गरेको भन्दै बैंकलाई अन्तरबैंक कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
सिस्टेमिक रिक्स(प्रणालीगत जोखिम)लाई व्यवस्थापन गर्न संघले एनआइसी एसिया बैंकलाई अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरेको संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए। उनले भने, ‘हामीले यो विषयमा राष्ट्र बैंकलाई जानकारी गराइसकेका छौँ।’
गत शुक्रबार एनआइसी एसियासहितका २८ वाणिज्य बैंकबीच बचत खाताको ब्याज दर ८ प्रतिशतभन्दा माथि नजाने र एक बर्षे मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको थियो। सहमति लगत्तै एनआइसी एसियाले १० प्रतिशतको बचतको ब्याजलाई ८ प्रतिशतमा झारेको थियो। तर, बिहीबारबाट फेरि बचतको ब्याज १० प्रतिशत पुर्याउँदै मुद्दतीमा १२ प्रतिशत ब्याज दिने सुचना सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।