काठमाडौं- नेपाल बंगलादेश बैंकको मंसिर १३ गते बसेको २५ औं संचालक समिति बैठकले चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको छ। आगामी पुष ७ गते तोकिएको साधारण सभाबाट ५६ करोड ६१ लाख ८० हजार ९ सय ४५ रुपैयाँ बराबर नगद लाभांश बाढ्ने प्रस्ताव पारित गरिनेछ।
त्यस्तै, संचालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष २०७५/७६ को मुनाफा रकमबाट २०७६ साल असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशतका दरले ४० करोड ४४ लाख १४ हजार ९ सय ६१ रुपैयाँ बराबरको बोनस सेयर जारी गरिनेछ।
यसरी जारी गर्दा कुनै शेयरधनीले पाउने बोनस सेयर खण्डिकृत हुन आएमा नपुग रकम सम्बन्धित सेयरधनीले पाउने नगद लाभांशबाट कट्टा गरी पूर्णकृत शेयर जारी गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृत गर्ने प्रस्ताव पनि साधारण सभामा लगिनेछ।
संचालक समितिको बैठक भत्ता लगायत सुविधाहरु परिमार्जन गर्ने विषय पनि साधारण सभामा लैजाने संचालक समितिले निर्णय गरेको छ। त्यसैगरी, नेपाल बंगलादेश बैंक र बंगलादेशको ढाँकामा रहेको आइएफआइसी बैंक लिमिटेडका बिच भएको प्राविधिक सेवा सम्बन्धी सम्झौता लाई अनुमोदन गर्ने विषय पनि साधारण सभामा लगिनेछ।
आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरणअनुसार बैंकको कुल निक्षेप ५९ अर्ब ७६ करोड ४७ लाख ७ हजार र कुल कर्जा तथा सापटी ५५ अर्ब ७१ करोड ९२ लाख ११ हजार बराबर छ। गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको वासलातको आकार २४ दशमलव २४ प्रतिशतले बृद्धि भइ ७६ अर्ब २५ करोड पुगेको बैंकले जनाएको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४० करोड २५ लाख खुद मुनाफा कमाएका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।