काठमाडौँ- विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार मागपत्र बुझाइएको छ।
वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६ विशिष्ट व्यक्तिले गरेको हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सरसफाइ सरकारको उच्च प्राथमिकतामा रहेको बताए। 'राजधानी लगायत देशभर चलेको सफाइ अभियानका बारेमा म जानकार छु, अभियान अझै विस्तारित र सशक्त बनाउन आवश्यक छ,' उनले भने, 'यसका लागि सरकारले सहयोग गर्छ, सरसफाइ वर्ष घोषणाका लागि के के तयारी गर्नुपर्छ, त्यो सबै गरेर ल्याउन सम्बन्धित मन्त्रालयलाई भन्नेछु।'
सरसफाइ वर्ष घोषणा गर्न आवश्यक नीति निर्माणको गृहकार्य पनि सरकारले अघि बढाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता थियो।
सरसफाइ वर्षको घोषणा गरी सरकारले नयाँ कामको थालनी गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाएको गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिका संयोजक खेम शर्माले जानकारी दिए।
मागपत्रमा पूर्वराष्ट्रपति डा रामवरण यादव र पाँच जना पूर्वप्रधानमन्त्रीसहित आर्थिक, सामाजिक, धार्मिक, पुरातात्विक, कलाकारिता, पत्रकारितालगायत क्षेत्रका १७६ विशिष्ट व्यक्तिले हस्ताक्षर गरेका छन्।
सो पत्रमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानन्यायधीश सुशीला कार्की, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित, पूर्वमन्त्री हिसिला यमी, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले हस्ताक्षर गरेका छन्।
यसैगरी नायिका एवम् वाग्मती सफाइ सद्भावनादूत मनीषा कोइराला, नायक राजेश हमाल, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, प्रियंका कार्की, सीताराम कट्टेल, एनआरएनएका संरक्षक उपेन्द्र महतो, डा भगवान् कोइराला, डा भोला रिजाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, कर्ण शाक्य, रवि लामिछाने, बालगुरु आदित्य दाहाल र व्यवसायीले पनि सरसफाइ वर्ष घोषणाको मागमा हस्ताक्षर गरेका छन्।
२०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएपछि उपत्यकाका नदी सफाइमा जागरण फैलिएको छ। उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, इन्द्रमती, चक्रपथका विभिन्न स्थानमा पनि सफाइ अभियान भइरहेको छ। प्रमुख सहरका ४५ स्थानमा हाल सरसफाइ अभियान सञ्चालन भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।