विराटनगर- २० वर्षे सवारीसाधन विस्थापन गर्नेगरी आएको सरकारी निर्णय सच्चाउन माग गर्दै झापा, मोरङ र सुनसरीका ट्याक्सी व्यवसायीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका छन्।
व्यवसायीहरुले मुख्यमन्त्री राईलाई भेटी उक्त निर्णयले साना व्यवसायीको रोजीरोटी गुम्ने र आश्रित परिवारको विचल्ली हुने भन्दै निर्णय सच्याउन माग गरेका हुन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले पनि यातायातका क्षेत्रमा बढ्दो असुरक्षा र चुनौतीका विषयमा मुख्यमन्त्री राईको ध्यानाकर्षण गराएका छन्। उनले चालकहरुले भोग्नुपरेको समस्या, यातायात मजदुरको पीडा र १० वर्षदेखि सवारी चालक अनुमतिका लागि सरकारले आवेदनसमेत नखोल्दा मुलुकमै चालकको अभाव भएको बताए।
राईले असजिलो सडक र गैरजिम्मेवार सरकारी नीतिका कारण यातायात क्षेत्रमा विकृति बढेको गुनासो पनि गरेका छन्।
व्यवसायीहरुको कुरा सुनेपछि मुख्यमन्त्री राईले प्रदेश १ मा हरेक हप्ता सवारी चालक अनुमतिपत्र वितरणको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारले सय दिनको महत्वाकांक्षी कार्यक्रमको घोषणा गरिसकेको बताउँदै अब श्रम र मजदुरमैत्री कानुन बनाएर सडक सुशासन, गुणस्तरीयता र सडकलाई फराकिलो बनाउने कामलाई प्राथमिकताका आधारमा अघि बढाइने बताए।
‘मजदुरहरुले आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ,’ उनले भने, ‘चालक अनुमतिपत्र लिन अब ३–४ महिना कुर्नुपर्ने छैन।’
जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आगामी बैसाख १ गतेदेखि २० वर्ष पुराना र प्रदूषण मापदण्ड पूरा नगर्ने सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।