रसुवा- वन्यजन्तुको अंग तस्करीमा संलग्न फरार एक जना कारागार चलान भएका छन्। ठूलो संख्यामा वन्यजन्तुको अंग तस्करीमा संलग्न रहेको अभियोगमा न्यायालयबाट दोषी ठहरिएसँगै काठमाडौं बौद्धका ४० वर्षीय लोडु डिमे कारागार चलान भएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) इन्टरपोलले भारतीय इन्टरपोलको सहयोगमा सोमबार साँझ अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी वन कार्यालय नुवाकोटलाई बुझाएको थियो।
वन्यजन्तु तस्करी अभियोगमा तत्कालीन पुनरावेदन अदालतको २०७१ फागुन १२ को फैसलाले ५ वर्षको कैद सजाय तोकिएकाले उनलाई कैद भुक्तानीको लागि कारागार पठाइएको जिल्ला वन अधिकृत पदमराज नेपालले बताए। 'सिआइबीले पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएलगत्तै फैसला कार्यान्वयनका लागि कैद भुक्तानीको लागी उनलाई कारागार चलान गरिएको हो,' उनले भने।
जिल्ला वन कार्यालयले २०७१ असार १३ गते एक लाख रुपैयाँ जरिवाना सुनाएपछि सरकारी वकिल पुनरावेदन पुगेको थियो। वन कार्यालयको फैसला उल्टाउँदै डिमेलाई पुनरावेदन अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार अवैध रुपमा आखेटोपहार ओसारपसार मुद्दामा ५ वर्ष कैद सजाय सुनाएको थियो। यो मुद्दा वन कार्यालय नुवाकोटको अहिलेसम्मको सबैभन्दा ठूलो मुद्दाको रुपमा रहेको जनाइएको छ।
ठूलो परिमाणमा वन्यजन्तु तस्करीका प्रतिवादी डिमेविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत विश्वभर ‘डिफ्युजन नोटिस’ र ‘रेड कर्नर नोटिस’ जारी गर्दै सर्वाधिक खोजीको सूचीमा राखेर खोजतलास हुँदै आएको थियो।
जिल्ला वन कार्यालय नुवाकोटका अधिकृत नेपालको अनुसार त्यही घटनामा मुछिएका तिब्बती शरणार्थी होजर भन्ने व्यक्ति अझै फरार रहेकाले प्रहरीले विश्वभर नै खोजी जारी राखेको छ।
२०७० पुस २८ गते ५ थान बाघको छाला र ७ बोरा बाघको हड्डीसहित पक्राउ परेका शुकबहादुर तामाङको बयानको आधारमा तस्करीको मुख्य योजनाकार डिमे रहेको प्रहरी र जिल्ला वन कार्यालयको अनुसन्धानले देखाएको थियो।
काठमाडौंबाट नुवाकोट हुँदै चीनतर्फ लैजान लागेको दुर्लभ वन्यजन्तुका अंगसहित तामाङ रङ्गेहात पक्राउ परेका थिए। तामाङको बयानको आधारमा डिमेको घरमा त्यसको भोलिपल्टै पुस २९ गते छापा मार्ने क्रममा नेपाली र अवैध विदेशी मुद्रा, विभिन्न जातको वन्यजन्तुका अङ्ग, वन्यजन्तुको अङ्गबाट बनेका कपडा, मूर्ति लगायतका वन्यजन्तुका सामग्री बरामद भएको थियो। डिमे सोही समयदेखि फरार थिए।
उनका सहयोगी तत्कालीन समयमा पक्राउ परेका रसुवाको साबिक गत्लाङ गाविस ४ का तामाङलाई ९ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सुनाएको थियो। तामाङ अहिले कैद भुक्तान गरिरहेका छन्।
तामाङको बा २ ख ७५०४ नम्बरको गाडीका चालक गत्लाङ ५ का नकुल तामाङलाई वन कार्यालयले एक लाख रुपैयाँ जरिवाना तिराएर त्यही समयमा नै छोडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।