सुर्खेत– सुर्खेतमा कर्णाली प्रदेशस्तरीय औद्योगिक क्षेत्र बन्ने भएको छ। यसका लागि सम्भाव्यता अध्ययनको काम सुरु गरिएको छ। हरेक प्रदेशमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणा अनुसार सुर्खेतमा सम्भाव्यता अध्ययन सुरु गरिएको हो।
अध्ययनका लागि संघीय सरकारको उद्योग मन्त्रालयको टोली सुर्खेत आएको छ। मन्त्रालयले औद्योगिक क्षेत्रका लागि प्रस्ताव भएको क्षेत्रको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली सुर्खेत पठाएको हो। उक्त टोलीले औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त छ वा छैन भन्ने विषयमा अध्ययन गर्नेछ। प्राविधिक टोलीको प्रतिवेदनका आधारमा सरकारले यसबारे थप निर्णय लिने जनाइएकोछ। सम्भाव्यता अध्ययनको प्रतिवेदनपछि मात्र यसको डिपिआरको प्रक्रिया थालिनेछ।
कर्णाली प्रदेशस्तरीय औद्योगिक क्षेत्रका लागि सुर्खेतको लेकवेशी नगरपालिकास्थित साटाखानीमा जग्गा प्रस्ताव गरिएको छ। रानीचौतारी सामुदायिक वन र खाँडदेवी सामुदायिक वनले औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा दिने निर्णय गरिसकेका छन्। सामुदायिक वनको जग्गामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम थालिएको हो।
करिब डेढ वर्षअघि नै औद्योगिक क्षेत्रका लागि जग्गा छनोट गरिएको थियो। सरकारले प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरेपछि सुर्खेत उद्योग वाणिज्य संघले सुर्खेतमा नै स्थापनाका लागि र जग्गा प्रस्तावका लागि पहल गरेको थियो। संघको पहलमा साटाखानीमा सामुदायिक वनले दिने जग्गामा औद्योगिक क्षेत्र स्थापना गर्ने सहमति जुटेको हो।
सामुदायिक वनहरूले औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने १ हजार विघा जग्गा उपलब्ध गराउने निर्णय गरेका छन्। औद्योगिक क्षेत्रका लागि पश्चिममा झुप्रा खोला, उत्तरमा भेडावारी सडक, दक्षिणमा भेरी नदी र पूर्वमा चिङगाड खोलाको बीचमा रहेको जग्गा प्रस्ताव गरिएको छ। यही क्षेत्रमा प्राविधिक टोलीले जग्गाको नाप नस्सा, भौगोलिक संकेत, वातावरणीय क्षति र भौगर्भिक अध्ययन गर्ने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।