राजविराज– सप्तरी सदरमुकाम राजविराजमा ‘दुई नम्बर प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव २०७४’ हुने भएको छ।
फागुन २८ गतेदेखि सुरु हुने महोत्सव चैत ७ गतेसम्म चल्ने प्रमुख आयोजक सप्तरी उद्योग वाणिज्य संघ राजविराजले जनाएको छ। व्यापार मेलामा उद्योग, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक, हस्तकलासहित स्थानीय वस्तुको प्रर्वद्धन गरिने जनाइएको छ।
महोत्सवमा जातीय छुवाछुत, धूमपान, मद्यपान, लागूऔषध प्रयोगरहित समाजको निर्माण गर्न सांस्कृतिक कार्यक्रम तथा झाँकी मार्फत चेतनामूलक सन्देश प्रवाह गरिने उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए।
खेतीयोग्य जमिन सीमित हुँदै गएकाले थोरै क्षेत्रफलमा खेतीबाट कसरी आम्दानी बढाउन सकिन्छ भन्ने जानकारीसहितका आधुनिक खेती प्रणाली र आधुनिक कृषि औजारको प्रदर्शनी पनि महोत्सवमा राखिने भएको छ।
१ सय ५० वटा स्टल रहने महोत्सवमा करिब दुई लाख दर्शक भित्र्याएर ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले बताए। महोत्सवमा कृषि उपज, स्थानीय उत्पादन, विद्युतीय सामानका साथै मिथिला, थारु, नेवारी, मारवाडी खानाको परिकार मुख्य आकर्षण हुने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।