सुर्खेत– बाल विवाह गर्ने एक जनालाई दैलेख जिल्ला अदालतले एक महिना कैद र दस हजार जरिवानाको फैसला गरेको छ।
दैलेखको नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २६ वर्षीय हेमन्त थापालाई मंगलबार सो फैसला सुनाइएको अदालतका प्रवक्ता नायव सुब्बा विनोद आचार्यले जानकारी दिए।
नौमूले गाउँपालिका–८ चौराठाकी १५ वर्षीया किशोरीलाई विवाह गरेको पुष्टि भएकाले अदालतले कैदसहित जरिवानाको सजाय सुनाएको हो। सोही मुद्दामा किशोरीलाई विवाह गराउन फकाएको आरोपमा नारायण नगरपालिका–११ बिन्ध्यवासिनीकै गगनबहादुर थापा र शेरबहादुर थापालाई पनि प्रतिव्यक्ति एक–एक हजार रुपैयाँ जरिवाना भएको प्रवक्ता आचार्यले जानकारी दिए।
गत असोज २८ गते राति आमा–बुबा घरमा नभएको मौकामा फकाएर विवाह गरेको भन्दै किशोरीकी आमाले गत कात्तिक २ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही उजुरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले कात्तिक २२ गते दैलेख जिल्ला अदालतमा बालविवाह मुद्दा चलाएको थियो।
जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट भएको फैसलामा अदालतमा पेश भएको प्रमाणका आधारमा बालविवाह गरेको ठहर गर्दै किशोरी आमाबुबासँग गइसकेकाले विवाहको मान्यता कायम नरहने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।