रसुवा– नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढीमा २१ दिनपछि मंगलबारदेखि कारोबार सुरु भएको छ।
ल्होसारका कारण नाकामा फागुन १ गतेदेखि २१ दिनसम्म कारोबार ठप्प भएको थियो। कारोबार सञ्चालनमा आएसँगै ८० वटा कन्टेनर नेपाल भित्रिएको र ५० वटा कन्टेनर चीनको केरुङतर्फ प्रवेश गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका गुल्मपति प्रकाश वाग्लेले जानकारी दिए।
ल्होसारका कारण टिमुरेस्थित रसुवागढी भन्सार कार्यालयको कारोबार २१ दिन ठप्प भए पनि दुबैतिरका भन्सार नियमित सञ्चालन भएका थिए।
चीनबाट रेडिमेड कपडा, विद्युतीय उपकरण, फलफूल लगायत सामग्री आयात हुने गरेको छ भने नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत निर्यात हुँदै आएको छ।
२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।