काठमाडौं- राष्ट्रियसभामा मनोनीत अर्थमन्त्री डा युवराज खतिवडासहित ३ सांसदको मुद्दाको पेशी मंगलबार पनि सरेको छ।
गत आइतबारदेखि निरन्तर पेशी तोकिँदै आए पनि उक्त मुद्दामा सुनुवाइ हुन सकेको छैन। उक्त मुद्दा मंगलबार न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको थियो।
न्यायाधीश चालिसे र घिमिरेको इजलासको सातौं नम्बरमा पेशी परेको थियो। तर, छैटौं नम्बरसम्म मात्र मुद्दा हेर्न भ्याइएपछि मुद्दाको पेशी अर्को दिनका लागि सरेको हो।
आइतबार न्यायाधीशद्वय प्रकाशसिंह राउत र हरिकृष्ण कार्कीको इजलासमा पेशी तोकिएको थियो। तर, उनीहरुले हेर्न नभ्याएपछि सुनुवाइ हुन सकेन। सोमबार पुन: न्यायाधीशद्वय दीपककुमार कार्की र शारदाप्रसाद घिमिरेको इजलासमा तोकिएको थियो। तर, सर्वोच्च अदालतका पूर्व न्यायाधीश रामनगिना सिंहको निधनपछि सबै इजलास स्थगित भएर मुद्दाको सुनुवाइ सरेको थियो।
आइतबार नै प्रतिनिधिसभा र राष्ट्रियसभाका अन्य सांसदले सपथ लिए पनि सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत तीन सांसद भने सर्वोच्चको अन्तरिम आदेशका कारण सपथ लिनबाट वञ्चित भएका थिए।
प्रधानमन्त्री देउवाले आफू सरकारबाट बाहिरिने समयमा गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई राष्ट्रियसभामा सिफारिस गरेका थिए। तर, राष्ट्रपति भण्डारीले उनीहरुको नाम अनुमोदन नगरी तामेलीमा राखेकी थिइन्। पछि केपी ओलीले सरकारको नेतृत्व गरेपछि नयाँ तीन सांसदको नाम पठाउँदा अनुमोदन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।