काबुल- अफगानिस्तानको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राष्ट्रपतिका प्रबल दाबेदार अब्दुल्ला अब्दुल्लाको नेतृत्वमा राजधानी काबुलमा प्रदर्शन गरिएको छ।
चुनावको अन्तिम परिणाम घोषणा गर्नुको साटो पुनः मतगणना गर्न थालिएपछि अब्दुल्लाले विरोध जनाएका हुन्।
राजधानी काबुलमा शुक्रबार अब्दुल्लाका हजारौं समर्थकले जुलुस निकालेका थिए। अब्दुल्लाले वर्तमान राष्ट्रपति अश्रफ घानीलाई मद्दत गर्ने गरी पुनः मतगणना गर्न थालिएको आरोप लगाएका छन्।
गत सेप्टेम्बर २८मा अफगानिस्तानमा विवादास्पद राष्ट्रपतीय निर्वाचन भएको थियो‚ जसलाई अफगानिस्तानका प्रमुख विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटले बहिस्कार गरेका थिए।
अफगानिस्तानको संविधानअनुसार कुनै उमेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेमा दोस्रो चरणको चुनाव हुनेछ ।
घानी र अब्दुल्लाले विगतमा सहमतिका आधारमा संयुक्त सरकारको नेतृत्व गरेका थिए। यसअघि सन् २०१४को राष्ट्रपतीय निर्वाचनमा दुवै नेताले आफू विजयी भएको दाबी समेत गरेका थिए।
-रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।