काठमाडौं- नयाँ संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन कार्यतालिका संसद् सचिवालयले प्रकाशन गरेको छ।
संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचनामा फागुन २५ गते १० बजेदेखि १ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। सोही दिन अपराह्न साढे १ बजे सभामुखका उम्मेदवारहरुको सूची प्रकाशन गरिने र कुनै दाबी-विरोध भए पेश गर्ने समय पनि दिइएको सूचनामा जनाइएको छ।
२६ गते प्रतिनिधिसभाको बैठकमा उम्मेदवारहरुलाई प्रस्ताव र समर्थन गर्ने, सामूहिक छलफल गर्ने र दर्ता क्रम अनुसार निर्णयार्थ पेश गर्ने कार्यतालिका छ।
सभामुखका लागि वाम गठबन्धनका तर्फवाट माओावादी केन्द्रले उम्मेवार उठाउनेछ। प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुख पदमा वाम गठबन्धनको मात्र एकल उम्मेवार हुन नदिने रणनीतिका साथ उम्मेदवार उठाउने तयारी गरिरहेको छ ।
राष्ट्रियसभा अध्यक्षका लागि २८ गते उम्मेदवारी दर्ता, ३० गते निर्वाचन
माथिल्लो सदनको रुपमा रहेको राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरेको छ। सचिवालयका अनुसार फागुन २८ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता हुने उल्लेख छ। उक्त सूची सोही दिन साढे १ बजे प्रकाशन गर्ने सूचनामा उल्लेख छ।
निर्वाचन भने ३० गते हुनेछ। राष्ट्रिय सभाको बैठकमा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव पेश गर्ने र समर्थकले समर्थन गर्ने कार्यसूचीमा उल्लेख छ। उक्त प्रस्तावलाई बैठक सञ्चालन गरिरहेका ज्येष्ठ सदस्यले निर्णयका लागि पालैपालो पेश गर्ने र बहुमत पुग्ने व्यक्ति निर्वाचित हुने सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।