काठमडौं- उतारचढाबको बाबजुत मंगलबारको सेयर बजार अन्ततः ८ दशमलव ७० अंकले बढेर बन्द भएको छ।
मनोविज्ञानले असर गर्ने नेपाली पुँजी बजारका लगानीकर्तालाई सानो कुराले पनि प्रभाव पर्नेगर्छ। यसको प्रत्यक्ष उदाहरण मंगलबारको बजारलाई लिन सकिने एक ब्रोकर संचालकले बताए।
उनले भने, ‘अर्थ मन्त्रालयले सेयर बजारलाई संवोधन गर्नेगरी स्वेत पत्र ल्याउने तयारी गरिरहेको हल्ला बजारमा अएपछि लगानीकर्ता सेयर किन्न हौसियका थिए। फेरि हल्लाकै पछि लाग्दा बजार नकारात्मक बनेको थियो र अन्ततः बढेर बजार बन्द भएको छ।’ जसका कारण मंगलबारको बजारमा उतारचढाब भएको उनले बताए।
कारोबारको शुरुवाती समयमा झिनो अंकले बढेर लगानीकर्तालाई आशा जगाएको बजार केही समयमै घट्न थालेको थियो। कारोबार शुरु भएको दुई घन्टामा २० अंकले ओरालो लागेको बजारले एक्कासी युटर्न लिँदा लगानीकर्तामा रौनक छाएको थियो। तर, एकछिन पनि टिक्क नसकेको खुसी फेरि फर्किएर बजार बन्द भएको छ।
साथै निजी क्षेत्रका वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउनले पनि बजार बढ्न सघाएको सेयर जानकारहरु बताउँछन्। नेपाल बैंकर्स संघको पहलमा बैंकहरुले निक्षेपको ब्याजदरलाई एकरुपता दिएर ब्याजदर घटाएर ८ प्रतिशतमा झारेका छन्।
साताको तेस्रो दिन नेप्से परिसूचक १ हजार २ सय ९६ दशमलव ४४ को बिन्दुमा पुगेको छ। त्यस्तै 'क' वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ८७ अंकले बढेर २ सय ७५ दशमलव ४३ को विन्दुमा रोकिएको छ।
मंगलबार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार कारोबारमा आएका १ सय ६४ कम्पनीको ४७ करोड ९९ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। जबकि सोमबारको कारोबारमा ३९ करोड ५२ लाख १७ हजार ४ सय ३६ रुपैयाँको सेयर किनबेच भएको थियो।
मंगलबार कारोबारमा आएका दुई समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ। होटल समूह ६९ दशमलव ५८ अंकले घटेको छ। त्यस्तै, अन्य समूहमा ५ दशमलव २९ अंकको वृद्धि देखिएको छ।
यता, मंगलबार बीमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यो समूह ३४ दशमलव ९७ अंकले बढेको छ। त्यस्तै, जलविद्युत् समूह २२ दशमलव शून्य ७ अंकले बढेको छ।
पछिल्लो केही दिनदेखि सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य लगातार बढेको छ। कम्पनीको सेयर मूल्य बढ्ने क्रम मंगलबार पनि रोकिएन। कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब १० प्रतिशत अर्थत् १ सय १९ रुपैयाँले बढेको छ। त्यस्तै, नागबेली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता १ सय ३० रुपैयाँ कमाएका छन्।
मंगलबार कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि छ। कम्पनीको २ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सानिमा बैंकको २ करोड १८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
यता, सर्वाधिक गुमाउनेमा ओरियन्टल होटलका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब १० प्रतिशत अर्थत् ५९ रुपैयाँले घटेको छ। त्यस्तै, वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर मूल्य ७ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।