काठमाडौं- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशहरुलाई कमजोर बनाएर संघीयता सफल हुन नसक्ने बताएका छन्। मंगलबार बसेको संसद बैठकलाई संवोधन गर्दै यादवले अहिले प्रदेशहरुमा आवश्यक पूर्वाधान, कर्मचारी समेत नपुगेको भन्दै प्रदेशलाई कमजोर पार्न नहुने बताए। उनले भने, 'प्रदेशहरुलाई कमजाेर बनाएर होइन, साधन-स्रोत सम्पन्न बनाएर मात्र संघीयता सफल हुन्छ।'
प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिँदै यादवले नयाँ सरकारका लागि भ्रष्टाचार र कमिसन प्रमुख चुनौती रहेको पनि बताए। संसद बैठकमा फोरम अध्यक्ष यादवले कमिसन र भ्रष्टाचारमा जेलिएको मुलुकले कहिल्यै पनि फड्को मार्न नसक्ने बताए।
‘मुलुकमा संस्थागत रुपमा भ्रष्टाचार छ, तलदेखि माथिसम्म, माथिदेखि तलसम्म भ्रष्टचार छ,’ उनले भने, ‘उनैले ठूला-ठूला पुरस्कार पाउँछन्, माथिल्लो तहसम्म पुग्छन्।'
यादवले भ्रष्टाचारलाई नियन्त्रण नगरेसम्म देशले आर्थिक समृद्धि र विकासमा फड्को मार्न नसक्ने बताए। ‘मुलुकलाई अगाडि बढाउन ब्ल्याक मनीको नियन्त्रण, विधिको शासन स्थापना गर्न आवश्यक छ,’ उनले भने।
यादवले सबैलाई समेटेर अघि बढ्न संविधान संशोधन आवश्यक रहेको बताए। राष्ट्रियताको भावनामा सबैलाई जोड्न संविधान संशोधन आवश्यक रहेको सन्दर्भमा उनले भने, 'राष्ट्रियताको भावना जनताको हृदयबाट उत्पन्न हुन्छ, यदि हृदय नै टुट्यो भने त्यसलाई सेना, कानुन, संविधान कसैले पनि जोड्न सक्दैन।'
यादवले थपे, 'अनुहार मिले पनि नमिले पनि, भाषा मिले पनि नमिले पनि, खानपान मिले पनि नमिले पनि मन त नेपाली नै हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।