काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीबीच आज भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ।
भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री अब्बासीको भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप सुमधुर तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरिन्। उनले नेपाल र पाकिस्तानबीच रहिआएको मित्रवत् सम्बन्ध थप सुदृढ तुल्याउँदै लैजानुपर्नेमा जोड दिइन्।
संविधानसभाबाट नेपालको संविधान जारी भएपछि तीन तहका निर्वाचन सफल भई नयाँ सरकार गठन भएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले अब नेपालले स्थिरता र विकासका पाइला चाल्ने विश्वास व्यक्त गरेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
‘विश्वका कतिपय मुलुकमा भएका द्वन्द्व र हिंसात्मक घटनाले अमूल्य मानवीय जीवनलाई पीडा दिइरहेको छ। अब यस्ता हिंसात्मक घटना अन्त्य हुनुपर्छ’, राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै स्वकीय सचिव अधिकारीले भने।
सो अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध राजनीतिक तहमा मात्र नभई जनस्तरमा समेत निकै अनुपम र उदाहरणीय रहेको बताएका थिए। उनले पाकिस्तानले नेपाललाई चिकित्सा शिक्षाका लागि दिँदै आएको सिट संख्यामा वृद्धि गर्ने जानकारी दिए।
दुई देश(भारत–पाकिस्तान) बीचको समस्याले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का गतिविधि र प्रक्रिया प्रभावित हुन नहुनेमा जोड दिँदै पाकिस्तानी प्रधानमन्त्रीले आगामी दिनमा सार्कको भूमिकालाई सशक्त तुल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भण्डारीलाई हिंसात्मक घटनाका कारण पाकिस्तानमा निर्दोष सैनिक तथा गैरसैनिकले जीवनको क्षति व्यहोर्नु परेको घटना अवगत गराएका थिए।
सार्कको संस्थापक सदस्य राष्ट्र नेपाल र पाकिस्तानले पछिल्लो समय व्यापार प्रवद्धन र सम्पर्क सञ्जाल विस्तारमा जोड दिँदै आएका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि उनलाई शुभकामना दिने सिलसिलामा पाकिस्तानका प्रधानमन्त्री अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा सोमबार काठमाडौं आएका हुन्।
भेटका अवसरमा अर्थमन्त्री डा.युवराज खतिवडा, राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा मदन भट्टराई, राजनीतिक सल्लाहकार सुबोध प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा पाकिस्तानका प्रधानमन्त्री अब्बासीको भ्रमण दलका सदस्य पनि सहभागी थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।