काठमाडौं- डा गोविन्द केसीविरुद्ध दर्ता भएको चौथो अवहेलना मुद्दाको पेशी प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नै इजलाशमा तोकेका छन्। पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा प्रश्न उठाइरहेका केसीविरुद्धको मुद्दा पराजुलीले आफ्नै इजलाशमा राखेका हुन्।
यसअघि 'पराजुलीको चार जन्ममिति' विषयमा लेखिएको कान्तिपुरको समाचारविरुद्ध दर्ता भएको अवहेलना मुद्दा पनि उनी आफैले आफैलाई पेशी तोक्दै आदेश गरेका थिए। आफू झगडीया भएको विषयमा मुद्दा नहेर्ने न्यायिक परम्परा भए पनि पराजुली आफैले आफ्नो विषयमा परेको मुद्दामा यसअघि नै सुनुवाइ गरिसकेका छन्।
डा केसीले अदालतलाई होच्याउने र प्रधानन्यायाधीशलाई अपराधी, माफिया र डन जस्ता शब्द प्रयोग गरी अदालतको अवहेलना गरेको दाबी गर्दै गोविन्द बोहोराले फागुन १६ गते अवहेलना मुद्दा दर्ता गराएका थिए।
प्रधानन्यायाधीश र न्यायालयविरुद्ध अवहेलना ठहर हुने गरी अभिव्यक्ति दिएको आरोपमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्रका प्राध्यापक केसीविरुद्ध चौथो अवहेलना मुद्दा परेको हो । उक्त मुद्दा आइतबार शारदाप्रसाद घिमिरेको इजलाशमा पेशी तोकिएको थियो।
यसअघि झापाको बि एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले केसीविरुद्ध पहिलो अवहेलना मुद्दा दायर गरेका थिए। मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारण गर्ने अधिकार मेडिकल काउन्सिलको भएको भनी सर्वोच्चबाट जारी आदेशलाई केसीले अनसनमार्फत चुनौती दिएको दाबी गर्दै प्रसाईले अवहेलना मुद्दा गरेका थिए। उक्त मुद्दा अन्तिम फैसलाको क्रममा छ।
दोस्रो अवहेलनामा सर्वोच्च आफैले टिप्पणी उठाएर मुद्दा दायर गरेको थियो।
केसीले प्रधानन्यायाधीश पराजुलीलाई माफियाको नाइके भनेर अनसनमा वक्तव्य दिएलगत्तै टिप्पणी उठाएर सर्वोच्च आफैले अवहेलना मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनलाई प्रहरी लगाएर अदालत उपस्थित गराइएको थियो। अदालतमा समेत केसीले सोही बयान दिएपछि सर्वोच्चले प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि माग्ने आदेश गर्दै केसीलाई साधारण तारेखमा रिहा गरेको थियो।
तेस्रो अवहेलना मुद्दा काठमाडौं नेशनल मेडिकल कलेजका सञ्चालक जैनुद्दिन अन्सारीले हालेका थिए। उक्त मुद्दामा स्वाथ्स्य खबर पत्रिका र कान्तिपुर दैनिकसँगै केसीलाई समेत विपक्षी बनाइएको थियो।
मापदण्ड नै नपुगेको मेडिकल कलेजलाई सम्बन्धन दिएको भनी केसीले न्यायालयको आडमा भ्रष्ट कार्य भएको टिप्पणी गरेका थिए। उक्त भनाइ प्रकाशन/प्रसारण गरेको भन्दै केसीसहित अन्यलाई मुद्दा दायर गरिएको थियो।
उक्त मुद्दामा अदालत उपस्थित भई केसी सहितका विपक्षीले लिखित जवाफ पेश गरिसकेका छन्। मुद्दामा दोस्रो सुनुवाइको पेशी भने हालसम्म तोकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।