काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली उपचाररत महाराजगञ्जस्थित त्रिवि, चिकित्सकशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिएकी हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए।
राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिएकी थिइन्।
राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारप्रति खुशी व्यक्त गर्दै स्वास्थ्यलाभको कामना पनि गरेकी थिइन्।
राष्ट्रपति भण्डारी प्रधानमन्त्रीलाई भेट्न साँझ ७ः४० बजे अस्पताल पुगेकी थिइन्।
प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
प्रधानमन्त्रीको स्वास्थ्यावस्था बुझ्न उपप्रधानमन्त्री उपेन्द्र यादव, नेकपाका नेता जनार्दन शर्मा तथा राप्रपा, समाजवादी पार्टीलगायत दलका नेताहरु पनि अस्पताल पुगेका थिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।