काठमाडौं- कान्तिपुर दैनिकविरुद्ध दर्ता भएको सर्वोच्च अदालतको अवहेलना मुद्दाको सोमबार स्थगित बयान आज हुँदै छ। सर्वोच्चका पूर्वन्यायाशीध रामनगिना सिंहको निधन भएपछि शोकमा सोमबार सबै इजलाश स्थगित गरिएको थियो।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलाशमा आइतबारबाट कान्तिपुरको बयान सुरु भएको थियो। आइतबार कान्तिपुर दैनिककी निर्देशक स्वस्तिका सिरोहियाको बयान सकिएको थियो। कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलाश सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवाली विपक्षी रहेका छन्।
सबै विपक्षीहरुको बयान समाप्त भएपछि दुईतर्फी सुनुवाइ सुरु हुनेछ। बयान नसकिएमा मुद्दालाई निरन्तर राख्दै सुनुवाइ गर्ने तयारीमा सर्वोच्च अदालत रहेको छ।
अधिवक्ता तोयानाथ ढुंगानले दायर गरेको अवहेलना मुद्दामा पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश गोपाल पराजुली आफैले तीन दिनभित्र उपस्थित हुन आदेश जारी गरेका थिए। 'प्रधानन्यायाधीश पराजुलीको ४ वटा जन्ममिति!' शीर्षकमा कान्तिपुरमा छापिएको समाचारले अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।