बुटवल- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरलले फागुन २७ गते विश्वासको मत माग्ने भएका छन्।
प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीका अनुसार फागुन २७ गते दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नेछन्।
त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री पोखरेलले जवाफ दिनेछन्। जवाफपछि सभामुखले मतदानका लागि आह्वान गर्नेछन्। मतदानमा आफ्नो पक्षमा ४४ मत वा बढी आएमा पोखरेल मुख्यमन्त्री कायम रहनेछन्।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसद्को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सांसद्ले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ।
एमाले संसदीय दलका नेता पोखरेल माओवादी केन्द्रको समर्थनमा फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश ५ मा प्रत्यक्ष र समानुपातिक गरी ८७ सांसद् छन्। जसमा वाम गठबन्धनका ६१ सांसद छन्। मुख्यमन्त्री रहेको दल एमालेका ४१ र माओवादी केन्द्रका २० सांसद् छन्। मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक ४४ मत यी दुई दलसँग छ।
त्यस्तै, कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका एकएक सांसद् छन्।
मुख्यमन्त्री नियुक्त हुँदा समर्थन पेस नगरे पनि संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चा सरकारलाई समर्थन गर्ने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।