काठमाडौं- नेपालको औपचारिक भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटवार्तामा दुई देशबीचको लगानी, व्यापार, पर्यटन, कृषि र मानव संसाधन विकास लगायतका विषयमा छलफल भएको छ।
बैठकमा दुई देशका प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बडापत्रको भावनानुसार सार्क प्रक्रियालाई पुनःजीवन दिन आआफ्ना विचार आदानप्रदान गरेका थिए। दुई देशका प्रधानमन्त्रीहरु द्विपक्षीय संयन्त्रको बैठकलाई नियमित गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अब्बासीको सम्मानमा साँझ होटल याक एन्ड यतीमा आयोजित रात्रिभोजमा नेपालका पूर्वप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुखको सहभागिता थियो।
प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपतिसँगको भेटअघि अब्बासी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता हुने जनाइएको छ।
प्रधानमन्त्री अब्बासीसँग उनका सचिव फवाद हस्सन फवाद, सैन्य सचिव ब्रिगेडियर वासीम इफ्तीखार चिमासहित पाकिस्तानी सरकारका उच्चअधिकारी संलग्न छन्। नेपालको दुईदिने भ्रमणमा आएका अब्बासी आज स्वदेश फिर्ता हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।