काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको औपचारिक भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा रात्रिभोज आयोजना गरेका छन्।
नेपालको दुईदिने भ्रमणमा सोमबारै नेपाल आएका प्रधानमन्त्री अब्बासीको सम्मानमा साँझ होटल याक एन्ड यतीमा आयोजित रात्रिभोजमा नेपालका पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुखको सहभागिता थियो।
यसअघि प्रधानमन्त्री ओली र उहाँका समकक्षी अब्बासीबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार बिहान शिष्टाचार भेट गर्ने कार्यक्रम छ। राष्ट्रपतिसँगको भेटअघि अब्बासी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता हुने जनाइएको छ।
नेपाल भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री मंगलबार स्वदेश फर्कनेछन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।