काठमाडौ- गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा शतप्रतिशत नजिक पुग्ने गरी काम गर्न निर्देशन दिएका छन्।
बिहीबार गृहमन्त्रालयमा आर्थिक वर्ष २०७६/०७७को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘तोकिएको लक्ष्य एक सय प्रतिशत पुर्याउन कोशिस गर्नुुहोस्, त्यसो गर्दा लक्ष्य प्राप्त हुन्छ, कारणवश पूरा हुन नसके पनि लक्ष्यको नजिक अवश्य पुगिन्छ।’
समग्रमा चालु आर्थिक वर्षमा मन्त्रालयले लिएको पहिलो चौमासिकको लक्ष्य पूरा भएको भन्दै गृहमन्त्री थापाले आगामी दिनमा थप कार्यपद्धतिलाई थप सुधार गर्दै लैजान निर्देशन दिए।
शान्तिबिना विकास सम्भव नभएको बताउँदै गृहमन्त्री थापाले सुरक्षा र प्रविधिमा थप लगानी गर्न आवश्यक रहेको टिप्पणी गरे। कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले प्रथम चौमासिक प्रगति सन्तोषजनक रहेको बताउँदै अहिलेका कमजोरीलाई सुधार गर्दै लैजानुपर्ने बताए।
बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, कारागार विभागले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।