बुटवल – प्रदेश नं ५ को सरकारले पूर्णता पाउन अझै केही समय लाग्ने भएको छ।
मन्त्रिपरिषद् विस्तारपछि कार्यालय तथा निजी आवास व्यवस्थापनको काम पर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको सरकारका प्रवक्ता वैजनाथ थारुले आजको मन्त्रिपरिषद्को बैठकपछि जानकारी दिए।
भौतिक योजना तथा निर्माणमन्त्री थारुले मन्त्रालय र निजी निवासको व्यवस्थापन भइरहेकाले अझै १० दिन समय लाग्न सक्ने बताए।
उनका अनुसार प्रदेश सरकारले यही फागुन २७ गते प्रदेशसभा बैठकमा विश्वासको मत लिइने छ । नेपालको संविधान धारा १६८९४० मा प्रदेश सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभासँग मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।
बैठकले प्रदेशमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई स्वीकृत गरेको छ । बैठकले प्रदेश नं ५ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ समेत स्वीकृत गरेको छ।
यस्तै प्रदेशअन्तर्गतका मुख्य नाकामा ५ नं प्रदेशका मुख्य पहिचान झल्कने महत्वपूर्ण क्षेत्रका विज्ञापनपाटी राख्न मन्त्रिपरिषद् सचिवालयलाई निर्देशन दिइएको छ । यस्तै प्रदेशको मुख्य न्यायाधिवक्ताको शपथको ढाँचासमेत मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । यसअघि मुख्यमन्त्री शंकर पोखरेलले सरकारको कानूनी सल्लाहकारमा दाङका ठाकुरप्रसाद डिसीलाई नियुक्तिका लागि सिफारिस गरेको जनाइएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।