काठमाडौं- नेपाली कांग्रेसले अनेरास्ववियुका युवाहरुले प्रहरीकै संरक्षणमा नेपाल विद्यार्थी संघका कार्यकर्तालाई कुटपिट गरेको आरोप लगाएको छ।
मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा प्रमुखको रोहबरमा भएको छलफलपछि नेविसंघका कार्यकर्तालाई कुटपिट भएको जनाइएको छ। नेविसंघ र अनेरास्ववियुको बीचमा छलफल भई बाहिर निस्कने क्रममा अनेरास्ववियुका युवाहरुले नेविसंघका कार्यकर्तालाई कुटपिट गरेको कांग्रेसले जनाएको छ।
नेपाल कमर्श क्याम्पस नेविसंघ इकाई सभापति सरोज तिमिल्सिना, निरज शाह लगायत १० जना विद्यार्थीलाई खुकुरी प्रहार गरिएको बताइएको छ। सांघातिक रुपमा खुकुरी प्रहार गरी घाइते बनाइएका तिमिल्सिना र शाहको बिएण्डबि अस्पतालमा उपचार भइरहेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उक्त क्याम्पसका अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल भट्टराई, दिपेन्द्र क्षेत्री, दिवस सापकोटा, प्रकाश रावल लगायतका युवाहरुले नेविसंघका कार्यकर्तालाई आक्रमण गरेको कांग्रेसले जनाएको छ।
घटनाको एक घण्टापछि नेपाल प्रहरीको डिएसीको नेतृत्वमा पुगेको थियो। सुरक्षाकर्मीले समेत अनेरास्ववियुका विद्यार्थीहरुलाई संरक्षण गर्दै नेविसंघका विद्यार्थीहरुलाई निर्घात कुटपिट गरेको कांग्रेसको आरोप छ। सुरक्षाकर्मीबाट नेविसंघका दुजङ शेर्पा घाइते भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।