काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधनका लागि सरकारमा सहभागिताको प्रस्ताव उपयुक्त समयमा आएको बताएको छ।
प्रधानमन्त्री केपी ओलीले सरकारमा सहभागी हुन राजपालाई औपचारिक प्रस्ताव गरेपछि उसको यस्तो प्रतिक्रिया आएको हो।
‘प्रधानमन्त्रीले औपचारिक रुपमा प्रस्ताव गर्नुभएको छ, प्रस्ताव उपयुक्त समयमा आएको जस्तो लाग्छ’, अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले नेपाल लाइभसँग भने, ‘सरकारसँग सहकार्यका लागि मूल विषय संविधान संशोधन हो, संविधानलाई पूर्णता दिने विषयमा सरकार सकारात्मक भए हामी सहकार्य गर्न तयार छौं।’
सरकारले यसअघि अर्को मधेसकेन्द्रित दल संघीय समाजवादी फोरमसँग मात्र नयाँ सरकारमा सहभागिताबारे छलफल गरेको थियो। फोरमसँगको वार्ता प्रक्रियाले अन्तिम रुप नलिँदै सरकारले राजपासँग पनि छलफल अघि बढाउने तयारी गरेको हो।
अध्यक्ष मण्डलका नेता भण्डारीले फोरमसँगको छलफलले मूर्त रुप लिन नपाउँदै सरकार राजपासँग वार्ता गर्न तयार हुनु सकारात्मक बताएको बताए।
‘सरकारको प्रस्तावमा हामी छलफल गर्न सकारात्मक छौं। सरकारमा सहभागिताभन्दा पनि संविधानको पूर्णता हाम्रो माग हो’, उनले भने।
प्रधानमन्त्रीको प्रस्ताव लगत्तै राजपा अध्यक्ष मण्डलको बैठक सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको थियो।
बैठकपछि नेता राजकिशोर यादवले नयाँ सरकारमा सहभागिता र संविधान संशोधनबारे छलफल गर्न आफूहरु सकारात्मक भएको भन्दै प्रधानमन्त्रीले थप पहल गर्न आवश्यक रहेको बताए।
‘संशोधनको विषयमा एजेण्डा प्रवेश नै भएको छैन’, उनले भने, ‘छलफल कसरी अगाडि बढ्छ, त्यो हेर्न बाँकी छ। तर सरकारको प्रस्ताव सकारात्मक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।