काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले नेपाललाई पुनः आफ्नो भूमिमा स्वामित्व कायम गर्ने अवसर भारतको पछिल्लो कदमले ल्याएको बताएका छन् ।
नेपाली भूभाग फिर्ता गराउन माग गर्दै इतिहासविद्,नागरिक समाजका अगुवा र भूगोलविदले बुधबार बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।
‘भारतले जुन नक्सा सार्वजनिक गरेको छ, यो रुपमा नकरात्मक भए पनि सारमा यसले अबसर ल्याएको छ,’ उनले भने, ‘त्यो भूभागमा हाम्रो स्वामित्व स्थापित गर्ने वातावरण भारतको कदमले दिएको छ ।’
सीमा बचाउ अभियानप्रति गृह मन्त्रालय र नेपाल सरकारको पूर्ण ऐक्यवद्धता रहेको बताउँदै मन्त्री थापाले लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपालको भएको पुष्टि गर्ने यथेष्ट प्रमाण नेपालसँग भएको बताए।
सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिएका भन्दै मन्त्री थापाले बोर्डर आउट पोष्ट(बिओपी) राख्दे दुरी घटाउन लागेको जानकारी दिए।
पहिले ३०/३५ किलोमिटरको दुरीमा बिओपी रहेका भए पनि अब त्यसलाई घटाएर १० किलोमिटरको दुरीमा राख्ने जानकारी उनले दिए।
‘बिओपी हामी विस्तार गर्दै छौं,’ उनले भने ‘अहिले झन्डै ३०/३५ किलो मिटरमा छन्। तर अब १० किलोमिटरमा राख्ने गरि शक्ति बिन्यास गर्दै छौं ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।