सर्वाधिक व्यापार गर्ने फिल्म ‘६क्कापन्जा’ सिरिजकी निर्देशक हुन्, दीपाश्री निरौला। हास्य अभिनेत्रीका रुपमा परिचय बनाएकी उनी अहिले फिल्म निर्देशनमा जमिरहेकी छन्। उनको घुमफिर, फिल्म, खानपिन, पुस्तक र पहिरन रुचिमा केन्द्रित भएर उनीसँग गरिएको क्याजुअल कुराकानीः
फिल्म बनाउनुमात्रै हुन्छ कि अरुले बनाएका हेर्नु पनि हुन्छ?
म त प्रायः नयाँ फिल्म हलमा लाग्नेवित्तिकै हेर्न गइहाल्छु। फिल्म भनेको त हाम्रो लागि पाठशाला हो। मैले जति हासिल गरे, त्यो फिल्मको औपचारिक शिक्षाबाट हासिल गरेको होइन, भोगाइबाटै आर्जन गरेको ज्ञान हो। विश्वका सिनेमा ट्रेन्डबारे अपडेट हुन्, विश्वले कस्तो कथालाई कसरी भनिरहेको छ, त्यो थाहा पाउन पनि फिल्म हेर्नुपर्छ भन्ने लाग्छ।
तपाईंको ‘अलटाइम फेभरेट’ फिल्म कुन हो?
आफैंले बनाएकोमा ‘६क्कापन्जा’को पहिलो सिरिज नै हो। हिन्दी फिल्ममा ‘मुन्ना भाइ एमबिबिएस’, ‘थ्रि इडियट्स’, ‘तारे जमिन पर’ खुब मनपर्छ। दोहोर्याइतेहेर्याइ हेरेको छु। त्यस्तै नेपालीमा ‘दर्पण छाया’ र ‘सुखःदुख’ मेरा प्रिय फिल्म हुन्।
घुम्न खुब रुचाउनुहुन्छ है?
हो नि। घुम्न भनेपछि म हुरुक्कै हुने मान्छे हो। जिन्दगी त रि–ल्याक्स पाराले जिउने हो जस्तो लाग्छ।
घुमिरहन मन लाग्ने ठाउँ कुन हो?
पोखरा नै हो। सायद नेपाली फिल्मसँग यसको गज्जबको साइनो भएर पनि होला। फिल्म सुटिङका लागि पनि यो उपयुक्त सहर हो। त्यहाँको फेवाताल, मठमन्दिर, बजार सबै मनपर्छ। मलाई खासमा त्यहाँको वातावरण नै रमाइलो लाग्छ। मैले जीवनमा पहिलोपल्ट प्लेन चढेर पुगेको ठाउँ पनि पोखरा नै हो।
थुप्रै देश घुमिसक्नुभयो। सबैभन्दा बढी कुन देशले लोभ्यायो?
विदेशको कुरा गर्दा मलाई अमेरिकाको न्यूयोर्क एकदमै मनपरेको हो। ‘स्टेचु अफ लिबर्टी’ जाँदा एकदमै मज्जा भएको थियो। अमेरिका चिनाउने मूर्ति रहेछ त्यो। पानीको बीचमा छ त्यो मूर्ति। जहाज चढेर जानुपर्छ। आहा, सम्झदै मज्जा आयो, झन् त्यतिबेला कति आयो होला। अर्को कुरा घुम्दाखेरी म जहाँ पुग्छु, मोबाइल झिकेर फोटो खिचिहाल्छु। फोटोको त म सौखिन नै हो।
कत्तिको पहिरन सचेत हुनुहुन्छ?
म एकदमै पहिरन सचेत छु। कलाकार भएपछि पहिरनको ख्याल गर्नु पनि पर्छ। किनभने हामीलाई आम दर्शकले पछ्याइरहेका हुन्छन्। पहिरनको कुरा गर्दा मलाई सुहाउने भनेको साडी हो। तर सहजताका हिसाबले मैले धेरैजसो पाइन्ट नै लाउँछु। यद्यपि, मलाई साडीमा सजिएर हिड्न एकदमै मनपर्छ। संसारभर अहिले कुन फेसन चलिरहेको छ, म त्यसबारे अपडेट पनि लिइरहेको हुन्छु, गुगल र सामाजिक सञ्जालमार्फत।
कत्तिको सपिङ गर्नुहुन्छ?
गरिरहेकै हुन्छु। मेरो साथीहरूको कपडा पसल छ। नयाँ र वन पिस सामान आउनेबित्तिकै उनीहरू मलाई कल गरिहाल्छन्। मलाई सुहाउँदा पहिरन उनीहरू सिफारिस गर्छन्। मेरो प्रायःजसो ड्रेसको डिजाइन अहिले कायरा बुटिकले तयार गरिरहेको हुन्छ।
कत्तिको पुस्तक पढ्नुहुन्छ?
म पुस्तक एकदमै कम पढ्छु। पुस्तकमा पनि मलाई बढी पढ्न मन लाग्ने मान्छेहरूको आत्मकथा नै हो। मान्छेहरुको संघर्ष र संघर्षपछिको सफलता पढ्दा मन छुन्छ। यसले जीवन जिउन उत्प्रेरणा पनि मिल्छ। केही नयाँ उपाय सिक्न पनि पाइन्छ।
कसको आत्मकथा पढेर प्रभावित हुनुभयो?
पढेका आत्मकथामध्ये मलाई मनपरेको हरिवंश आचार्य दाइको ‘चिना हराएको मान्छे’ नै हो। सायद एउटा कमेडियन भएकाले अग्रज कमेडियनको जीवनको कथाले छोएको हुनुपर्छ। त्यो किताबमा जे छ, सब यथार्थ छ। हरि दाइ एउटा यस्तो वरिष्ठ मान्छे हुन् जसले जीवनमा धेरै उतारचढाव भोगेर यहाँसम्म आइपुग्नुभएको छ। हरि दाईको संघर्ष पढ्दा हाम्रो संघर्ष केही लाग्दैन।
कत्तिको ‘फुडी’ हुनुहुन्छ?
खानपिनमा पनि म निक्कै सौखिन छु। त्यहीभएर त यति मोटाएकी छु (मुस्कुराउँदै)! सेड्युलअनुसार नखाएर पनि हो। कामको व्यस्तताले गर्दा भनेको बेला खान पाँइदैन।
खानपिनमा के बढी मनपर्छ?
खानपिनमा मलाई सामान्यतः मनपर्ने दाल, भात र तरकारी नै हो। त्यसबाहेक पनिर, च्याउको तरकारी मीठो लाग्छ। त्यस्तै मलाई नेवारी खाजासेट भन्नेबित्तिकै मुखबाट पानी आइहाल्छ। आलुको अचार, बारा खाइरहन मनलाग्छ।
तपाईं त शाकाहारी हो है?
हो नि। त्यसैले त सुरुसुरुमा विदेश जाँदा खुब समस्या हुन्थ्यो। कहिलेकाहीँ फ्लाइटमा जाँदा केही नखाइ नेपाल फर्किएका दिन पनि छन्। अहिले त त्यता पनि नेपालीहरूको संख्या बढेको छ, नेपाली खानाहरू पाइन्छ त्यसैले रमाइलै हुन्छ।
तस्बिर: कुशल राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।