काठमाडौं- गायक यश कुमारले पहिलो पटक गाएको यो गीत कमैलाई थाहा छ- 'हाँसो मागे तिमीसँग...।' तर यो उनले पहिलोपटक रेकर्डिङ गरेको गीत हो।
पहिलोपटक गीत रेकर्ड गर्दाको क्षण यश कुमारकहिल्यै बिर्सन्ननन्। ‘सुरुमा माइकमा जाँदा माइक देख्दा नै डर लाग्यो। एउटा सानो फलामको पाताले बेरेको। माइकमा बोल्दा अर्कोतिर आवाज आउने रैछ,’ उनले सम्झँदै भने, ‘हलो भनेर पहिलोपटक भन्दा आफ्नै कानमा ठोक्कियो। आफ्नो आवाज आफैंले सुन्दा अचम्म लाग्यो।’
एकैछिन डर भए पनि यश कुमारलाई छुट्टै किसिमको उर्जा थपियो। ‘ओहो म पनि एउटा कलाकार बन्दैछु। सेलिब्रेटी हुँदैछु,’ उनी भन्दै थिए, ‘एउटा आर्मीको हातमा बन्दुक थमाइदिँदा लडाकु फिल गरेजस्तै। त्यो बेलामा म पनि एउटा कलाकार हुँ भन्ने फिल भयो मलाई।’
त्यो गीत यश कुमार आफैंले लेखेका थिए। अनि कम्पोज पनि उनैको थियो।
२०५२ सालतिर। अल्फा डिजिटल साउण्ड रेकर्डिङ स्टुडियोमा उनले पहिलो गीत रेकर्ड गरेको थिए। त्यतिबेला १५ सय खर्च भएको थियो यश कुमारको।
‘त्यतिबेला मसँग पनि धेरै पैसा थिएन। साथीहरूले तैँले राम्रो गाउँछस् भनेर मलाई पैसा सहयोग गरेका थिए,’ यश कुमारले भने।
गीत रेकर्डिङको क्रममा एउटा रमाइलो घटना उनी सम्झिरहन्छन्। उनले सुरुमा चिच्याइ चिच्याइ गाएका थिए। उसो त बाहिर त्यसरी नै गाउने बानी।
स्टुडियोमा भएभरको स्वर निकालेर उनी गाउँदै थिए।
गाउँदै जाँदा निलो कोट लगाएको मान्छेले बटम थिचिदिएर यश कुमारलाई भनेछन्, ‘भाइ स्टुडियोमा बिस्तारै गाउँदा पनि सुनिन्छ। त्यसरी चिच्याएर गाउनु पर्दैन।’
ती अपरिचित व्यक्तिको कुराले यश कुमारलाई अफ्ठेरो लागेछ। एकछिन त अलमल्लमा परे। पछि ती व्यक्ति गइसकेपछि को हुन् भनेर यश कुमारले साथीलाई सोधे।
‘उहाँ त पप किङ ओम विक्रम विष्ट पो रहेछन्,’ उनले हाँस्दै सुनाए।
ओम विक्रमले भनेपछि यश कुमारले आवाज सानो बनाएर गाए। अनि लजाउँदै अनुभव गरे, ‘स्टुडियोमा बिस्तारै गाउँदा पनि सुनिने रैछ।’
त्यतिबेला रेडियो स्टेशनहरू त्यति धेरै थिएनन्। रेडियो नेपालबाट २/३ घण्टाको समय किनेर हिट्स एफएमले एउटा कार्यक्रम चलाएको थियो।
त्यतिखेर ट्रली बस चल्थ्यो। यश कुमार साथीहरूसँग सूर्यविनायक घुम्न जाँदै थिए ट्रली बस चढेर। गाडीमा एउटा कार्यक्रम रेडियोबाट बजिरहेको थियो। कार्यक्रममा अचानक यश कुमारको गीत बज्यो।
‘ओइ यो तेरो गीत हैन,’ एउटा साथीले उत्साहित हुँदै यश कुमारलाई भने।
‘त्यसपछि बसका सबै मान्छेले मलाई अचम्मले हेरे। म त लाजले भुतुक्कै भएँ,’ उनले हाँस्दै भने।
तर, यो गीत धेरै चलेन। अरु नै गीतबाट यश कुमार चर्चामा आए।
पछि, यश कुमारको ओम विक्रमसँग लगातार भेट हुन थाल्यो। धेरैजसो कार्यक्रममा उनीहरू सँगै पनि हुन थाले।
एकदिन ओमविक्रमलाई उनले सुटुक्क पहिलो पटक गीत रेकर्डिङ गर्दाको उनीहरूको किस्सा सुनाए। त्यश पछि ओमविक्रमले आश्चर्यमिश्रित भावमा हाँस्दै भने, ‘ए, त्यो केटा तिमी पो हौ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।