काठमाडौं- भारतीय पूर्वविदेश सचिव एवम् नेपालका लागि पूर्वराजदूत श्याम शरणले केवल बयानबाजी अर्थात् लफ्फाजीका लागि नेपालीहरूले सीमा मिचिएको कुरा उठाउने गरेको अरोप लगाएका छन्।
भारतीय अंग्रेजी अखबार इन्डियन एक्सप्रेसमा बुधवार एक लेख लेख्दै उनले त्यस्ता कुरा उठाए पनि निरन्तरका संवादका लागि नेपाली पक्ष अनिच्छुक देखिने गरेको दाबी गरेका छन्। ‘मेरो आफ्नै अनुभव यस्तो छ कि नेपाली पक्षले यस्ता मुद्दा लफ्फाजीका लागि उठाउँछन् तर निरन्तर संवादका लागि अनिच्छुक देखिन्छन्,’ उनले लेखेका छन्, ‘नेपाल-भारत मैत्री सन्धि पुनरालोकनका लागि नेपालले उठाएको कुरामा पनि यस्तै भयो। सन् २००१ मा विदेश सचिव तहमा संशाेधित सन्धिसहित वार्ता गर्न भारत तयार भयो। जसले नेपालीका आँखामा सम्मान महसुस गराउथ्याे। तर केवल त्यसमा एक चरणको मात्रै कुरा भयो।'
आफू वार्ता गर्न तयार हुँदा पनि नेपाली पक्षले वार्ताबाट त्यो एजेन्डा नै हटाएको उनको दाबी छ। ‘म नेपालमा राजदूत हुँदा सन् २००३ को सविच स्तरको वार्तामा नेपाली पक्षबाट यसमा वास्तविक रुपमा कुरा हुने कुनै अपेक्षाविना बैठकको एजेन्डामा त्यो मुद्दा राख्न अनुरोध गरेको थिएँ’, श्याम शरणले लेखेका छन्, ‘जब हामीले सन्धि पुनरालोकन लागि ठोस रुपमा कुराकानी गर्न तयार भएको जानकारी दियौं, नेपाली पक्षले वार्ताको कार्यसूचिबाटै त्यसलाई हटाइदिएको थियो।’
कालापानीलाई त्रिदेशीय विन्दु र सुस्तालाई भारतीय क्षेत्रमा पारेर नक्सा सार्वजनिक गर्न वामपन्थीले कांग्रेससँग मिलेर भारतलाई उक्साएको आरोप पनि उनले लगाएका छन्। ‘वामपन्थीका अवशिष्ट क्रान्तिरीले भारत समर्थक नेपाली कांग्रेससँग मिलेर त्यो नक्सा जारी गर्नका लागि उक्साएका हुन्। जसमा उत्तरको कालापानीलाई भारत-नेपाल-चीनको सीमा तथा दक्षिणको सुस्तालाई भारतीय क्षेत्रमा राखिएको छ,’ उनले लेखेका छन्।
भारतले हालै जारी गरेको नक्साको नेपालसँग कुनै साइनो नभएको भन्दै उनले भारत-नेपाली सीमामा कुनै परिवर्तन नभएको बताएका छन्। ‘तै पनि नयाँ प्रकाशित नक्सामा नेपाली भूमि पारिएको धारणा बनाइएको छ,’ उनले लेखेका छन्, ‘यो साँचो हो कि नेपालले विगतमा कालापानी र सुस्ता क्षेत्रमा आफ्नो दाबी गर्थ्याे।’ सीमा सम्बन्धी यस्ता विवाद परराष्ट्र सचिव तहमा सुल्झाउन दुवै देश तयार भएको भन्दै उनले यदि नेपाली पक्षले यसलाई भावना भड्काउने रुपमा उठाइ राख्ने हो भने यसमा भारतको निष्क्रियता अक्षम्य हुने बताएका छन्।
वार्ताबाटै यी समस्याको समाधान गर्ने कुरा भारतले उठाइरहेको भन्दै उनले यदि राजनीतिक लाभका लागि नेपालका राजनीतिक दलले कुरा उठाए भारतले त्यसलाई काउन्टर दिने चेतावनी पनि दिएका छन्। यद्यपि नेपालका राजनीतिक दलले यी मुद्दालाई लिएर राष्ट्रवादी रङ्ग फैलाउन अहिले अलिकति जोखिम भएको उनको विश्लेषण छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।