धरान- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भइसकेको आरोप लगाएका छन्।
धरान उपमहानगरमा मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि कांग्रेसले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै सभापति देउवाले कालपानीका कारण ओलीको राष्ट्रवाद उदाङ्गिएको दाबी गरेका हुन्।
‘मैले महाकाली सन्धी गर्दा महाकालीको पानी आधा-आधा हुने उल्लेख थियो,’ उनले भने, ‘तर अहिलेका प्रधानमन्त्री ओलीले कालापानी मिचिँदा समेत चुँइक्क बोलेका छैनन्। ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भइसकेको छ।’
छोटो समयमै मन्तव्य सिध्याएका उनले अधिकांश समय सरकारकै आलोचनामा खर्चिएका थिए।
सरकार हल्लाको भरमा चलेको दाबी गरेका सभापति देउवाले विकासका लागि नेपाली कांग्रेसलाई विजय गराउन आग्रह गरेका थिए।
धरानमा इतिहास बदल्न यसपटक जनताहरु आतुर रहेको उनको भनाइ थियो।
सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै उनले प्रजातान्त्रको रक्षा गर्न पुनः सडकमा जान तयार रहेको भन्दै सरकारलाई चेतावनी समेत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।