काठमाडौं- महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चरेससहित १ जनालाई पक्राउ गरेको छ।
प्रहरीले सोमबार कोटेश्वर जडिबुटीबाट गठ्ठाघर बस्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका-१०का शिवप्रसाद ढुंगेललाई पक्राउ गरेको हो।
ढुंगेलको साथबाट प्रहरीले अवैध लागुऔषध चरेस १ किलो २ सय ग्राम बरामद गरेको छ।
यसैगरी महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले सोमबार नै ललितपुर महानगरपालिका-१५ हात्तीवनबाट धापाखेल बस्ने मकवानपुर हेटौडाका सन्तोष बजगाईको साथबाट फेनरागन, नुफिन गरी ६९ एम्पुल, आइडिए १३ प्याकेट र ३ थान सिरिन्ज समेत बरामद गरेको छ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध पोल्याण्डसहित ४ जनालाई सोमबार सानेपाबाट पक्राउ गरेको छ।
सानेपा बस्ने आकाश तामाङ, सोही ठाउँका सुवास महर्जन, साईमन श्रेष्ठ र रूपक तुलाचन्दलाई अवैध लागुऔषध पोल्याण्ड १ किलो ३ सय ९५ ग्राम र गाँजा १ सय ६० ग्राम सहित पक्राउ गरेको हो।
सबै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।