नेपालगन्ज– नेपालगन्ज उप–महानगरपालिका क्षेत्रमा ३६ किलोमिटर सडक तथा ४० किलोमिटर नाला निर्माण गरिँदै छ।
उप–महानगरपालिकाले नगरभित्रको सडक, नाला निर्माण कार्यको जिम्मा पाएको कालिका जेडीटएसजे जेभीसँग ठेक्का सम्झौता गरेको हो।
एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा सुरु हुन लागेको सडक तथा नाला निर्माणका लागि उप–महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र कालिकाको तर्फबाट निर्देशक युवराज क्षेत्रीबीच सम्झौता भएको हो।
सम्झौतासँगै नेपालगन्जको सडक, नाला निर्माणका लागि काम सुरु हुने उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताए। आयोजना अन्तर्गत चारवाहिनी –त्रिवेणीमोड सदरलाइन, बलबुलियारोड विस्तार सुरु हुनेछ।
नेपालगन्ज उप–महानगरपालिका अन्तर्गत सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत सडक, नाला निर्माणको काम गरिँदै छ। सम्झौता अनुसार एक अर्ब ४४ करोड ७१ लाख ६६ हजार ४ सय ६५ रुपैयाँ (भ्याट र कन्टेन्जेन्सी बाहेक) को लागतमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
सडक तथा ढलहरुको काम चुस्त र प्रभावकारी बनाउन नेपालगन्ज उप–महानगरपालिकाले मापदण्ड विपरीतका घर, पर्खाल लगायतका संरचना हटाउन सार्वजनिक आह्वान गरिसकेको छ।
विद्युत्, खानेपानी, टेलिकमका संरचना हटाएर सडक निर्माण कार्यमा सहयोग गर्न उप–महानगरपालिकाले सम्बन्धित सबै पक्षसँग आह्वान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।