त्यसताका सरिता साहले शिल्पी थिएटर छाडिसकेकी थिइन्। शिल्पी छाडे पनि अभिनयको तीर्खा मेटिएको थिएन। केही गर्छु भन्ने हुटहुटीले गाँजिरहेको थियो। तर, कमै कलाकारहरूसँग संगतमा थिइन् उनी।
‘शिल्पीमा हुँदा उस्तो सम्बन्ध बढेन। त्यहीँमात्र सीमित भइयो,’ उनले भनिन्, ‘पछि शिल्पी छाडेपछि केही समय असजिलो भयो। फ्रिल्यान्सर पनि भएँ।’
त्यतिनैबेला उनको मस्तिष्कमा ‘लु’ का पात्रहरू सल्बलाउन थाले। अभिनय सिक्दै गर्दा शिल्पीमा उनले लेखक नयनराज पाण्डेको उक्त उपन्यास पढेकी थिइन्। उपन्यासका पात्र र परिवेशले निकै छोएको थियो उनलाई। पढेर सकेलगत्तै सरिताले ठानेकी थिइन्, ‘यसलाई नाटक बनाउन पाए!’
पछि फुर्सदमा उनले ‘लु’लाई नाटकमा रुपान्तरण गर्ने सोच बनाइन्। सरितालाई स्क्रिप्ट लेख्न आउँदैन थियो। स्क्रिप्ट लेख्न धेरै लेखकलाई आग्रह गरिन्।
तर, लेख्ने मामिलामा सबै उम्किए मात्र।
‘तपाईं आफैं लेख्नुस्। बरु लेखिसकेपछि म हेरुम्ला। अहिले नाटक लेख्ने मुड नै छैन,’ लेख्नको लागि आग्रह गर्दा सरितालाई एक लेखकले सुझाए।
अन्ततः उनी आफैं स्क्रिप्ट लेख्न बसिन्। पहिलो पटक लेखेर एक लेखकलाई देखाइन्। ती लेखकलाई चित्तबुझ्दो लागेन। ‘फेरि लेख्नुस्’ भन्ने सुझाव पाएपछि उनले पुनः लेखिन्। दोस्रो पटक पनि सोचेजस्तो भएन। ‘अझै काम गर्नुपर्छ’ भन्ने सुझाव पाएपछि उनी तेस्रो पटक लेख्न बसिन्।
तेस्रो पटकको लेखाइ सन्तोषजनक थियो।
तर, रिहल्सन गर्दा अनेक समस्याहरू झेल्नुपर्यो सरिताले। पहिलो त कलाकार पाउनै मुस्किल। कोही रिहर्सल गरेको ९/१० दिन बितेपछि छाडेर भागिदिन्थे। ‘कलाकार नपाएर यस्तो अवस्था आयो कि जीवनमा नाटकको न थाहा नभएको ठूली दिदीलाई ल्याएर मैले नाटक गर्न लगाएँ,’ सरिताले भनिन्।
स्क्रिप्ट तयार त भयो। अब नाटक निर्माण गर्नु थियो। लेखक पाण्डेले नाटक गर्ने अनुमति दिइसकेका थिए। यद्यपि, नाटक निर्माण गर्न लगानी चाहियो।
उनी प्रोड्युसर खोज्न थालिन्। झट्टै नाटकमा लगानी गर्न कन्भिन्स हुनेहरू पाउन मुस्किल थियो। यही बीचमा सरिताको कलाकार गोपाल अर्यालसँग कुराकानी भयो। नाटकमा गोपालले लगानी गर्न तयार भए। सरिताको निम्ति यो खुसीको कुरा थियो।
अब निश्चिन्त रुपमा सरिताले नाटकको निर्देशन गर्ने भइन्। पहिलो पटक नाटकको निर्देशन गर्नु उनी आफैंको निम्ति अनौठो थियो। र चुनौती पनि।
‘मैले बाध्य भएर निर्देशन गर्न खोजेँ। खासमा अभिनयको भोक बाँकी नै थियो म मा,’ सरिता विष्मयको भावमा भन्छिन्, ‘तर, मलाई कसले बोलाओस् र अभिनय गर्न?’
अभिनयमा अवसर पाइ नहाल्नुको एउटा कारण आफू मधेसी मुलकी कलाकार हुनु लाग्छ सरितालाई। ‘मधेसी मूलको कलाकारको निम्ति यहाँ अवसर छैन। त्यस मध्येमा म पनि पर्छु,’ उनले निधार खुम्च्याउँदै भनिन्।
‘लु’को नाटक निर्माण गर्ने विषयमा सरिताले केही व्यक्तिहरूसँग छलफल गरिन्। धेरैले मुख खुम्च्याउँदै भने, ‘किन नसक्ने काम गर्न लागेकी!’
अधिकांशको प्रतिक्रिया उत्साहजनक थिएन। र पनि सरिताले आफ्नो काम गर्न छाडिनन्। उनलाई मनैदेखि सहयोग गर्नेहरू थिए। ती थोरै मनहरूको उत्साहमा उनले काम अगाडि बढाइन्। रिहर्सल गर्ने ठाउँको व्यवस्था निर्माता गोपालले नै गरे।
तर, रिहर्सल गर्दा अनेक समस्याहरू झेल्नुपर्यो सरिताले। पहिलो त कलाकार पाउनै मुस्किल। कोही रिहर्सल गरेको ९/१० दिन बितेपछि छाडेर भागिदिन्थे। ‘कलाकार नपाएर यस्तो अवस्था आयो कि जीवनमा नाटकको न थाहा नभएको ठूली दिदीलाई ल्याएर मैले नाटक गर्न लगाएँ,’ सरिताले भनिन्।
रिहर्सलको एक बिन्दुमा पुगेपछि उनको अनुहारमा तनाबका बादलहरू मडारिए।
उनलाई यतिसम्म लाग्यो, ‘अरे यार, मैले यो सब किन गरेँ?’
पश्चातापले बेस्सरी पोल्यो सरितालाई।
रिहर्सल हुँदै गर्दा उनले थाहा पाइन्, नाट्यकर्मी सुनिल पोखरेलले पनि ‘लु’मै रिहल्सन गर्न लागेको रैछन्। सरितालाई त्यतिबेला फिल भयो– आखिर सुनिल सरले यस्तो गर्नु नहुने। उहाँले किन यस्तो गर्नुभयो होला?
सरिताले सुरु गरेको १० दिनपछि सुनिलले रिहर्सल सुरु गरेका थिए। त्यो उनले उपन्यासका लेखक पाण्डेमार्फत् थाहा पाएकी थिइन्।
‘सरिता जि, हेर्नुस्। अब तपाईंलाई नाटक गर्नु भनिसकेको छु। सुनिल सरलाई पनि नाइँ भन्न सकिनँ। उहाँले पनि गरिररहनु भएको छ। उहाँले तपाईंको नाटक सकिएपछि गर्छु भनेर भन्नुभएको रै’छ,’ लेखक पाण्डेले सरितालाई फोनमा भनेका थिए।
तनाबको बाबजुद पनि नाटक रिहर्सल गर्न भने छाडिनन् सरिताले। खुुसीको कुरा, सुनिलले बीचमा रिहर्सल गर्न छाडिदिए। त्यसपछि सरिताको शीरको बोझ पनि हलुंगो भयो।
नाटक मञ्चन भयो मण्डला थिएटरमा। २३ दिनसम्म चल्यो। हरेक दिनजसो हाउसफुल भयो।
‘व्यापार एकदमै राम्रो भयो। मैले सोचेको पनि थिइनँ यति धेरै दर्शकहरूले मन पराइदिन्छन् भनेर,’ सरिताले सम्झँदै भनिन्।
आफूले निर्देशन गरेको पहिलो नाटकमै उनले सफलता चुमेको आभाष गरिन्।
नाटक सकिएपछि भने सरिताको एउटा कुरामा चित्त दुखाइ रह्यो। ‘हुन त मैले पैसाको लागि भनेर काम गरेकी थिइनँ। तर, निर्माताले दिएको पारिश्रमिकले गाडी भाडा नै नपुग्ने थियो,’ सरिताले भनिन्, ‘एउटा कलाकारले अर्को कलाकारको दु:ख बुझ्छ भन्ने लागेको थियो। तर, त्यस्तो भएन।’
एकदिन उनले साइकल चलाइन्। त्यो कुरा परिवारलाई थाहा भयो। त्यही निहुँमा उनलाई माथि झुण्याएर डोरीले बाँधियो। ‘यो दोष मेरो परिवारको थिएन। पुस्तौंदेखिको संस्कारको विरुद्धमा जानुनै अपराध ठान्थ्यो समाज,’ सरिता भन्छिन्।
आफ्ना नाटकका कलाकारले पारिश्रमिक पाउँदा सरितासँग चित्त दुखाएका थिए। तर, सरिताकै खाममा आएको पैसा देखेपछि उनीहरूले पछुताउँदै भने– बेकार दिदीसँग रिसाएछौं।
त्यसपछि सरिताले दोस्रो नाटक निर्माण गरिन्– काशीदेवी। यो सहिद दुर्गानन्द झाको जीवनमाथि बनाइएको नाटक थियो।
निर्माता थिए– पूर्णेन्दु झा।
यो नाटक ११ दिनसम्म चल्यो। दर्शकहरूको उपस्थिति सन्तोषजनक थियो। नेपाली र मैथिलीमा हुँदा अपेक्षाअनुरुपको दर्शक भने आएनन्। तापनि नेताहरूको उपस्थिति बाक्लो थियो।
दोस्रो नाटकको निर्देशन गर्दा पहिलो भन्दा धेरै सहज भयो सरितालाई। ‘धेरै कुरा बुझिसकेकी थिएँ। समस्या आउने कुरामा पहिल्यै सजग थिएँ,’ उनले भनिन्।
दोस्रो नाटकमा भने सबै कलाकारलाई चित्त बुझ्दो पारिश्रमिक पनि दिलाइन् सरिताले।
त्यसपछि उनले दुईवटा नाटकमा अभिनय गरिन्। ‘कतिपय नाटकमा प्रस्ताव आउँथे, रिजेक्ट गरिदिन्थेँ। क्यारेक्टर र प्रस्ताब नै चित्तबुझ्दो हुँदैन थियो। बरु सडक नाटकमै व्यस्त हुन थालेँ,’ सरिताले भनिन्।
०००
महोत्तरीको टिम्किया भन्ने गाउँ। जहाँको समाजमा छोरा र छोरीबीच असमानताको ठूलो पर्खाल थियो। छोरीलाई खुलेर हाँस्न पनि वर्जित थियो। त्यहाँ सडक नाटकहरू बेला बेलामा हुन्थे। तर, छोरीले नाटक हेर्नु त के सोच्नु पनि अपराध गरेजतिको हुन्थ्यो।
त्यही समाजमा जन्मिइन् सरिता। समाजले जे कुरामा छोरीलाई बन्देज गरेको थियो, त्यही कुरामा उनको चासो र रहर बढ्यो।
बाल्यकालमा एकदिन सरिता उन्मुक्त हाँसिन्। त्यसरी हाँस्दा घरका मान्छेले बेसरी गाली गरे– छोरी भएर यसरी हाँस्छेस्!
त्यसपछि हाँस्नुअघि उनी निकैपटक सोच्थिन्।
एकदिन उनले साइकल चलाइन्। त्यो कुरा परिवारलाई थाहा भयो। त्यही निहुँमा उनलाई माथि झुण्ड्याएर डोरीले बाँधियो। ‘यो दोष मेरो परिवारको थिएन। पुस्तौंदेखिको संस्कारका विरुद्ध जानुनै अपराध ठान्थ्यो समाज,’ सरिता भन्छिन्।
टिभी हेर्नमा उनको विशेष सोख। घरमा टिभी बिग्रिएको थियो। अरुको घरमा भागेर जान्थिन् टिभी हेर्न। ट्युसन पढ्न जाँदा बाहना बनाएर बाहिर जान्थिन् र टिभी हेर्न पुग्थिन्। टिभीमा देखिने सिनेमाहरूले खुब पछ्याउँथे सरितालाई।
‘भागी-भागी टिभी हेर्न गएको कुरा घरमा थाहा पाएछन्। त्यसपछि त रामधुलाइ भेटी हालेँ,’ सरिताले हाँस्दै भनिन्।
सानोमा सबै कुरा नबुझ्ने भए नि उनले अनुमान लगाउन थालिन्- छोरी मान्छे किन ठूलो स्वरले हाँस्नु हुँदैन। किन टिभी हेर्न जानु हुँदैन? किन साइकल चलाउनु हुँदैन?’
‘सायद त्यतिबेला जन्मेका यी तमाम प्रश्नहरूले नै मलाई फरक बनायो,’ सरिता गर्वसाथ भन्छिन्।
टिभीमा सिनेमा हेरेपछि साथीभाइलाई बटुलेर उनी अभिनय गर्न लगाउँथिन्। अनि आफू निर्देशन गर्न तम्सन्थिन्। यही कारण उनमा सानैदेखि अभिनय र निर्देशनको भोक बढ्यो। केही गर्छु भन्ने चाहना बढ्यो। तर, यो कुरा उनले घरमा कहिल्यै भन्न सकिनन्।
वर्कसपमा आउँदासम्म सरिताले अभिनय सिकेकी थिइनन्। सुरुको क्षण उनलाई निकै अफ्ठेरो भयो। हाँस्दा पनि मुख छोपेर हाँस्थिन्। उनी त्यसरी हाँसेको देख्दा सबै छक्क परेर हेर्ने गर्थे। खेलहरू खेल्दा पनि लजाउँथिन्। परिचयसमेत दिन डराउँथिन्। ‘त्यतिबेलासम्म सबैको अगाडि खुलेर बोल्ने अवसर पाएकी थिइनँ। त्यसैले त्यो नयाँ परिवेशमा मलार्ई खुल्न निकै गाह्रो पर्यो,’ सरिताले सुनाइन्।
६ कक्षामा पढ्दै गर्दा दिदी सँगै सरिताको बिहेको कुरा आयो। दिदीले हुन्न भन्न सकिनन्। तर, सरिताले भने एसएलसी पास नगरिकन बिहे नगर्ने ढिपी कसिन्।
‘समाजबाट धेरै दबाब आयो। मैले कसैगरी एसएलसीअघि बिहे नगर्ने जिद्दी कसेँ। अन्ततः मेरो बिहे रोकियो,’ सरिता विजयको भावमा भन्छिन्।
२०६५ मा सरिताले एसएलसी दिइन्। त्यसपछि उनी पढ्नका लागि जनकपुर गइन्। जनकपुरमा रेडियो टुडेमा छनोट भएर त्यहीँ काम गर्न थालिन्।काम गर्दा गर्दै रेडियोमा पहिलोपटक नाटक गर्ने अवसर पाइन् सरिताले। नाटक लाइभ हुन्थ्यो। त्यहाँ उनले कडा मिहिनेत गरिन्।उनी साथीसँग मिलेर स्क्रिप्ट्स पनि लेख्थिन्। त्यहाँ नाटक गरिरहँदा उनलाई नसोचेको प्रतिक्रिया मिल्यो।
सोही क्रममा उनले अर्को अवसर पाइन्। त्यतिबेला नाम चलेका कलाकार रवीन्द्र झाले संघोर रेडियो नाटकको एउटा प्रोजेक्ट पाएका थिए। उनी प्रोजेक्टमा राइटरको रुपमा थिए। उनले नाटकको लागि राम्रो कलाकार खोजिरहेका रैछन्।
त्यहीबखत सरिताको नाटक रेडियोमा सुनेछन।नाटक सुन्दा सुन्दै उनले सोधिहालेछन्- यो केटी को हो? ‘उहाँले मेरो नाम थाहा पाएपछि मलाई फोन गर्नुभयो र नाटकको लागि प्रस्ताब गर्नुभयो,’ सरिताले भनिन्।
रवीन्द्र झाले नाटकमा प्रस्ताव गरेको कुरा उनका साथीहरूले थाहा पाए। अनि सबैले आश्चर्यकतित हुँदै बधाई दिए।
सरिता अडिसनमा छनोट भइन्। त्यसपछि दुई वर्ष रवीन्द्र झाको रेडियो प्रोजेक्टमा रहेर सँगै काम गरिन्।
०००
‘काठमाडौंमा शिल्पी नाट्य समूहबाट सडक नाटकको लागि केटा र केटी मैथिलीभाषी कलाकार चाहिएको छ। मैले तिम्रो नाम सिफारिस गरेको छु। जान्छौ?,’ एकदिन रवीन्द्रले सरितालाई प्रस्ताव गरे।
यो प्रस्ताब गुमाउने सोच थिएन सरिताको। थियो केवल परिवारको डर।
‘सडकमा नाटक गर्यो भने मलाई गाउँमा कुन रुपमा लिन्छन् होला?’ उनले चिन्तित हुँदै भनिन्। ‘यो राम्रो कामको लागि हो। यता कसैलाई थाहा हुँदैन’ भन्दै रवीन्द्रले सरितालाई सम्झाइ बुझाइ गरे। उनी राजी भइन्।
शिल्पी नाट्य समूहका घिमिरे युवराजले रवीन्द्रलाई यो प्रस्ताब गरेका थिए। रवीन्द्रको श्रीमतीले नभ्याउने भएपछि उनले सरिताको नाम सिफारिस गरिदिएका थिए। सरिताले घरमा ममीलाई भनिन्। सुरुमा त मनाउन गाह्रो भयो। लगातार उनले मनाउने कोशिस गरेपछि ममीबाट ‘हुन्छ’ उत्तर आयो।
सबै कुरा मिलेपछि सरिता काठमाडौं आइन्। ‘त्यतिबेलासम्म शिल्पीको आफ्नो थिएटर थिएन। मार्टिन चौतारीनिर अफिस थियो। १५ दिनको कार्यशाला त्यही र्मािटन चौतारीमै भएको थियो,’ उनले सम्झँदै भनिन्।
वर्कसपमा आउँदासम्म सरिताले अभिनय सिकेकी थिइनन्। सुरुको क्षण उनलाई निकै अफ्ठ्यारो भयो। हाँस्दा पनि मुख छोपेर हाँस्थिन्। उनी त्यसरी हाँसेको देख्दा सबै छक्क परेर हेर्ने गर्थे। खेलहरू खेल्दा पनि लजाउँथिन्। परिचयसमेत दिन डराउँथिन्। ‘त्यतिबेलासम्म सबैको अगाडि खुलेर बोल्ने अवसर पाएकी थिइनँ। त्यसैले त्यो नयाँ परिवेशमा मलार्ई खुल्न निकै गाह्रो पर्यो,’ सरिताले सुनाइन्।
सरिताको त्यो अवस्था देखेर घिमिरे युवराजले चिन्तित हुँदै रवीन्द्रलाई भनेछन्– रवीन्द्र। साँच्चै उनले पहिला सडक नाटक गरेकै हो?
‘हो, यार साँच्चै गज्जब गर्छ उसले। यहाँ चाहिँ के भयो कुन्नि,’ रवीन्द्रले भनेछन्।
रवीन्द्रले सरितालाई सिफारिस गर्दा धेरै सडक नाटक गरेको भनेर झुट बोलेका रहेछन्।
कार्यशालाको ४ दिन बितिसकेको थियो। सरिताबाट लगभग आशा थिएन। युवराज चिन्तित थिए। तर, पाँचौं दिनमा नसोचेको कुरा भइदियो।
त्यो दिन सरिताको प्रस्तुतिले सबै चकित परिदिए। ‘त्यो दिनको मेरो प्रस्तुति सबैभन्दा राम्रो थियो। त्यसपछि युवराज दाइलाई आशा लाग्यो मैले गर्न सक्छु भनेर,’ सरिताल भनिन्।
त्यसपछिका दिनमा उनी बिस्तारै खुल्दै गइन्। सबैसँग उनी खुलस्त बोल्न र हाँस्न सक्ने भइन्। नलजाइ खेल खेल्न सक्ने भइन्। नडराइ परिचय दिनसक्ने भइन्।
यसरी १५ दिनको कार्यशालापश्चात् एउटा कचहरी नाटक पूरा भयो। त्यसपछि २२/२३ दिनको टुर थियो। जीवनमा सडक नाटक पनि नगरेको मान्छेले पहिलो पटक कचहरी नाटक गर्दै थिइन् सरिता। त्यही कचहरी नाटकले निखारेर ल्यायो सरितालाई।
कचहरीको रमाइलो पक्ष थियो, त्यहाँ दर्शकबाट समस्याको समाधान खोजिन्थ्यो। नाटक महिला हिंसा सम्बन्धी थियो।
एकपल्ट कचहरीमा नयाँ अनुभूति बटुलिन् सरिताले।
नाटकमा उनी सासूको रोलमा थिइन्। उनले बुहारीलाई हिंसा गर्ने भूमिका थियो। बुहारीले दाइजो नल्याएको विषयमा कुट्ने दृश्य थियो।
सर्लाहीतिरको एक समुदायमा नाटक देखाउँदै गर्दाको झझल्को सम्झँदै सरिता भन्छिन्, ‘मैले बुहारीलाई दाइजो नल्याएको निहुँमा हिंसा गरेको थिएँ। सुत्रधारले ती बुहारीलाई घर राख्ने कि निकाल्ने भनेर उद्घोष गरे। एउटी महिलाले ‘घरमा राख्नुपर्छ’ भनिन्। आफ्नो छोराको बिहेमा दाइजो लिने अनि मलाई सिकाउने। म त लिन्छु जा भनेर मैले भनेँ। सुत्रधारले ‘उहाँले मान्नुभएन अब के गर्ने’ भनेर भन्दा ती महिलाले चुर भएर मलाई समाएर फनफन्ती घुमाइन्। अनि लखेटिन्।’
कचहरीले समाजमा परिवर्तन गर्न सक्ने विश्वास उनले त्यो घटनाबाट लिइन्।
‘एकपल्ट एउटा भाइले नराम्रोसँग अडियन्सको चड्कन भेटेका छन्। उनीहरूलाई नाटकले पुरै गहिर्याउँदो रहेछ,’ सरिताले भनिन्।
धेरै ठाउँमा कचहरी नाटक लिएर टिमसँगै सरिता पनि पुगिन्।
नाटकको भूमिकामा उनको नाम डिम्पल थियो। दर्शकहरू डिम्पललाई भेट्न लामो समयसम्म कुरेर बस्ने गर्थे। नाटकमा डिम्पल घरकी ‘नोकर’ हुन्छिन्। त्योे भूमिकाको लागि उनले कपाल काटेर थाइकट पारेकी थिइन्। त्यो कारणले उनलाई निकैले प्रशंसा गरे।
०००
नाटक सकिएपछि सरिता जनकपुर गएर करिब एक वर्षजति बसिन्। र फेरि त्यहीँको रेडियोेमा काम गर्न थालिन्। यात्रामा हुँदा शिल्पीको आफ्नै नाटकघर बनाउने कुरा चलिरहेको थियो। नयाँ कलाकार ल्याएर त्यहीँ नाटक सिकाउने कुरा थियो।
जनकपुर आएको एक वर्षपछि शिल्पीबाट सरितालाई फोन आयो, ‘हामी केही कलाकारहरूका लागि यहीँ होस्टेल राख्छौं। यहीँ सिकाएर नाटक गर्न लगाउँछौं। के छ तिम्रो मनसाय?’
सरितालाई अवसर पहिल्याउनु थियो। हुन्छ भनिन्। त्यसपछि उनी काठमाडौं बस्ने गरी आइन्।
शिल्पीको भवन बन्दै थियो। त्यतिबेला शिल्पीमा उनीसहित ७ जना बस्थे।
‘थिएटरमा बस्दा निकै गाह्रो थियो। भर्खर बन्दै गरेको अवस्था। कोठाभरि पानी नै पानी हुन्थ्यो। त्यस्तोमा सुतेको थियौं हामी, सरिताले सम्झँदै भनिन्, ‘पानी नहुँदा अर्काको घरबाट ल्याएर नुहाउँथ्यौं। वर्षाको पानी कुरेर बस्थ्यौं र जम्मा गर्थ्यौं।’
यो समस्याको बाबजुद पनि जोस थियो सरितामा। कलाकारले सबै कामको अनुभव लिनुपर्छ भन्ने उनको भावना थियो।
थिएटर बन्दै गर्दा सुरुमा ‘कोमा अ पोलिटिकल सेक्स’ भन्ने नाटक भएको थियो। यो नाटक सरिताको पहिलो स्टेज नाटक थियो। बेलुका २ बजेसम्म नाटकको तयारी हुन्थ्यो।
त्यतिबेलासम्म सरितालाई थिएटरको भाषा थाहा थिएन। कुनै उपकरणको नाम थाहा थिएन। कुनै सुत्र थाहा थिएन। केही थाहा नहुँदा नहुँदै गरिन् त्यस नाटक।
नाटकको प्रतिक्रियामा त्यतिबेला टन्नै गाली खाइन् सरिताले। उनी ग्रिस्मिला भन्ने पात्रको भूमिकामा थिइन्।
प्रतिक्रियाको क्रममा कतिपयले भने, ‘त्यो पात्रको टोन भएन।’टोनको कुरा निकाल्दा भने सरितालाई नमज्जा लाग्यो।
पहिलो नाटक सकिएपश्चात् थिएटरमा अभिनयको क्लास भयो। त्यो अभिनय कक्षा लिइसकेपछि सरितालाई लाग्यो, ‘मैले केही नजानिकन किन गरेछु नाटक।’
आफूले अघिल्लो पटक गरेको नाटकको कमजोरी सरिता आफैंले केलाउन सक्ने भइन्। त्यसपछि त्यो ब्याचले नयाँ नाटक निर्माण गर्यो– ‘एल्लो कमेडी’।
‘त्यसमा नबोलिकनै क्रियाकलापबाट बुझिन्थ्यो। यो माइण्ड वाला प्ले एकदमै हिट भयो। त्यो क्लासको देन थियो,’ सरिताले भनिन्।
त्यसबाट निकै राम्रो प्रतिक्रिया पाइन् सरिताले। त्यसपछि अर्को नाटक गरिन्–झोलेन्द्रप्रसादको लिला।
त्यो अनुवाद नाटक थियो। नाटक अत्यन्तै राम्रो भयो। ‘मैले आजसम्म सबैभन्दा बढी प्रशंसा पाएको नाटक थियो त्यो,’ उनले भनिन्।
नाटकको भूमिकामा उनको नाम डिम्पल थियो। दर्शकहरू डिम्पललाई भेट्न लामो समयसम्म कुरेर बस्ने गर्थे। नाटकमा डिम्पल घरकी ‘नोकर’ हुन्छिन्। त्योे भूमिकाको लागि उनले कपाल काटेर थाइकट पारेकी थिइन्। त्यो कारणले उनलाई निकैले प्रशंसा गरे।
नाटक गर्ने क्रममा सरितालाई लवजको कुराले सधैं पिरोलिरह्यो।
त्यस नाटक गर्ने क्रममा पनि उनले त्यो अनुभूत गरिन्। ‘डिम्पल पात्रको थर पहिला भुजेल थियो। मैले गर्ने भएपछि मण्डल बनाइयो। यो कुराले मलाई असहज फिल गर्यो,’ सरिताले भनिन्।
उनलाई लागिरह्यो– म मधेसी भएर डिम्पल मण्डल बनाएको हो भन्ने कुरा मलाई चित्त बुझेन। यदि, यतैको पहाडको मान्छेले नाटक गरेको भए त्यसको थर परिवर्तन हुन्नथ्यो।’
यद्यपि, उनले क्यारेक्टरलाई त्यही रुपमा ढालिन्। प्रस्तुतिलाई रोचक बनाइन्। त्यसपछि उनले ‘मजिपा लाखे’मा खेलिन्।
एकपछि अर्को हुँदै सरिताले दर्जन नाटकमा ‘अब्बल’ अभिनय गरिन्।
०००
हिजो नाटकलाई महिलाले सोच्दा पनि अपराध मान्ने सरिता हुर्किएको समाज अहिले परिवर्तन भएको छ। त्यो अनुभव उनले आफ्नै ठाउँमा नाटक देखाएपछि गरिन्। ‘छठमा मैले आफ्नो ठाउँमा एकल नाटक गरेको थिएँ। त्यो नाटक हेरेपछि धेरै मान्छे रोए। उनीहरू मेरो बारेमा यसरी पोजेटिभ भएर आए कि एकाएक परिवर्तन भए।’
नाटक जादुजस्तै लाग्यो सरितालाई। रुढिवादले ढुंगा बनाइसकेको मान्छेले हृदय पनि नाटकले नौनीझैं पगाल्दो रहेछ। ‘अहिले छोरीहरूलाई नाटक हेर्न र खेल्नमा बन्देज छैन,’ सरिता खुसीभावमा बोल्छिन्।
उनी लगायत मधेसी मूलका अन्य कलाकारले पनि अवसर नपाएको उनको ठम्याइ छ। ‘धेरै साथीहरू छन्। जो निकै अब्बल छन्। तर उनीहरूले नेपाली फिल्ममा अवसर पाउँदैनन्,’ सरिता भन्छिन्, ‘हामीलाई जोक्कर बनाउन चाहन्छन्। लवज बिगार्न चाहन्छन्। त्यसरी बिगार्ने साथीहरूले भने अवसरका लागि पनि फिल्म खेलिरहेका छन्।'
०००
सरिता बेला बेलामा निकै ‘फ्रस्टेड’ हुने गर्छिन्। कारण– मधेसी कलाकारमाथि यहाँ ठूलो विभेद छ।
सानैदेखि विभेद भोगेर आएकी सरिताले त्यसलाई चिर्दै पनि आइन्। तर, काठमाडौंमा आएपछि उनले भोगको विभेद असह्य थियो। त्यो विभेद रङको नाउँमा गरिने विभेद थियो। कलाकारिता क्षेत्रमा उनले प्रचुर भेटिन्। आफूले खेल्ने नाटक, फिल्ममा उनले नजिकबाट नियाँलिन्।
कुराकानीको क्रममा उनले सुनाइन्, ‘केही दिन अघि एउटा फिल्मको अडिसनको अफर आएको थियो। जान्छु सोचेकी थिएँ। तर, लाग्यो किन जानु। मलाई तिनीहरूले सेलेक्ट गर्ने हैन। फिल्ममा मधेसी क्यारेक्टर रहेछ भने मात्र लिने हो। चान्स नै छैन मेरो। गइनँ म।
सरिताको मनमा गुनासाहरूको पोका छ। जसले उनको मनमा सियोलेझैं बेला-बेला घोचिरहन्छ।
‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने रेडियो नाटको काम भइरहेको थियो। सरिताको पनि भूमिका थियो नाटकमा। त्यतिबेला उनले नाटकमा आवाज दिँदा कसैले अहर्यायो- यसमा अलि मधेसी टोन ल्याएर बोल न!
सरितालाई झनक्क रिस उठ्यो। उनले आक्रोशमिश्रित लवजमा भनिन्, ‘मेरो टोन यही हो। म यसरी नै बोल्छु।’
त्यसपछि त्यो नाटकमा सरितालाई बोलाउनै छाडिदिए।
एकपल्ट धुर्मुस सुन्तलीसँग सरिताले एउटा पिएसए गरेकी थिइन्। त्यसमा उनको एउटा पत्रकारको भूमिका थियो। त्यो भूमिका उनले गर्ने क्रममा डाइरेक्टरले भने, ‘तपाईं उता तराईको टोन निकालेर बोल्नुस् न।’
आक्रोशले सरिता ‘चिट्टिट्’ भइन्। उनले कड्केर भनिन्, ‘हेर्नुस्। मैले यसरी नै बोल्ने हो। मलाई बिगारेर बोल्न चाहिँ आउँदैन।’
सरिताको यही प्रतिवादको कारण उनलाई फिल्म वा नाटकको अफर त्यति आउँदैनन्।
उनी लगायत मधेसी मूलका अन्य कलाकारले पनि अवसर नपाएको उनको ठम्याइ छ। ‘धेरै साथी छन्। जो निकै अब्बल छन्। तर उनीहरूले नेपाली फिल्ममा अवसर पाउँदैनन्,’ सरिता भन्छिन्, ‘हामीलाई जोक्कर बनाउन चाहन्छन्। लवज बिगार्न चाहन्छन्। त्यसरी बिगार्ने साथीहरूले भने अवसरका लागि पनि फिल्म खेलिरहेका छन्।
उनले २/३ वटा फिल्ममा काम नगरेकी पनि हैनन्। ती फिल्म त्यसकारण खेलिन्, जसमा उनले आफूलाई सहज महशुस गरिन्।
उनले खेलेको पहिलो फिल्म हो ‘अनागत’। त्यस फिल्ममा उनले प्रियंका कार्कीसँग स्क्रिन सेयर गरेकी छन्। त्यतिबेला उनको भूमिकाको डाइलग निर्देशकले आफैंलाई बनाउन दिएका थिए। ‘लुट २’ मा पनि उनले कामेश्वर चौरासियाको श्रीमती भएर अभिनय गरेकी छन्। ‘त्यसमा पनि निर्देशकले हामीलाई सिनलाई राम्रो बनाउन छुट दिए। हामीले आफ्नै अनुसारले बनायौं,’ उनले सम्झिइन्।
‘चक्कर’ भन्ने फिल्ममा अर्पन थापाको श्रीमतीको भूमिका निभाइन् उनले। त्यसमा क्षेत्रीको रोल गरिन्। ‘त्यो एउटा फिल्म थियो। जसमा फरक समुदायको भूमिका गरेँ,’ सरिताले भनिन्।
यद्यपि, केही बाहेक अधिकांश निर्देशकले मधेसीहरूलाई हेर्ने दृष्किोणमा फरक नभएको उनको मत छ।
‘मधेसी मूलका कलाकारलाई किन यस्तो विभेद?’
जवाफमा सरिता भन्छिन्, ‘नाटक र फिल्ममा काम गर्ने भनेको यताकै मान्छे हो। तराईका अत्यन्तै कम छन्। त्यो काम किन गराउँदैन भन्दा उनीहरूको समुदायको कथा हुन्छ। उनीहरूको समुदायमा हामी हुँदैनौ। भए पनि उनीहरूको आफ्नै मान्छेलाई खेलाउँछन्। उनीहरूको के छ, कुन हिसाबले लिन्छन् थाहा छैन। किन त्यस्तो हुन्छ थाहा छैन।’
पछि उनलाई जति पनि अफर आए। त्यो मधेसी पात्रकै भूमिकाका लागि आए। ती भूमिका पनि यस्ता थिए, जसमा अभिनय गर्दा आफ्नै समुदायमाथि ठट्टा गर्नुजतिको हुन्थ्यो। उनी आफैंमाथि अन्याय गर्न चाहँदिन थिइन्।
फिल्म क्षेत्रमा मात्र नभइ पहाडी समाजमा नै मधेसीहरूलाई गरिने व्यवहार विभेदपूर्ण भएको उनको अनुभव छ।
‘तपाईको घर तराई हो? कस्तो हेर्दा पनि तराईको जस्तो। काली, काली। टोन नि त्यस्तै,’ एकपल्ट एकजना नवपरिचित व्यक्तिले सरितालाई भनेका थिए।
एकपल्ट एकजना चर्चित गायककै मुखबाट उनले मधेसीहरूलाई ‘धोती’ भनेको सुनिन्। उनले सहन नसकेर ती गायकलाई मुखभरिको जवाफ दिइन्, ‘मलाई यसरी बोल्ने मान्छे खराब लाग्छ। धोती किन भन्नुभयो। यो ठूलो कुरा हो। हामी अत्यन्तै आदर गर्छौं यो कस्टुमलाई।’
यसरी हेप्दै गर्दा ती मान्छेहरूप्रति प्रेम हैन विद्रोह भरिएर आउने उनी बताउँछिन्।
सरिताको मत यसैमा छ- मधेसीहरू हरेक पेसामा सम्मानित हुनुपर्यो।
उनी अहिले एन्टेना फाउण्डेशनमा आवद्ध छिन्। त्यहाँ उनले मैथिली रेडियो नाटक लेख्छिन् र नाटक उत्पादन गर्छिन्। फिल्ममा निर्देशन गर्ने उनको चाहना भने अझै मरेको छैन। मधेसी मुलका कलाकारलाई अवसर दिलाउने प्रयत्नमा उनी संघर्षशील छिन्।
उसो त अभिनयको तीर्खा मरेको छैन। फिल्ममा आफूलाई स्थापित गर्ने चाहना उनमा पनि छ। उनी विभेदरहित त्यो दिनको पर्खाइमा छिन्। भन्छिन्, ‘एकदिन त्यस्तो दिन आओस्। यहाँ लवज र वर्णको हैन कलाको सम्मान होस्। अब्बल कलाकारहरूले अवसर नपाएर भौतारिएर हिँड्नु नपरोस्। अनि अभिनय गर्नुको आनन्द पनि बेग्लै हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।