नेपालगन्ज– वन र वन्यजस्तुको संरक्षणमा युवाको सहभागिता बढाउन बाँके राष्ट्रिय निकुञ्जले चोरी सिकार नियन्त्रणमा युवा जागरण अभियान सुरु गरेको छ।
स्थानीय बासिन्दा र युवाहरुको सहभागिताबाट मात्रै वन क्षेत्रको विनाश तथा वन्यजन्तुको चोरी सिकार नियन्त्रणलाई प्रभावकारी बनाउन सकिने भएकाले निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने युवाहरुलाई निकुञ्जले संरक्षण कार्यमा सहभागी गराउँदै आएको छ।
‘युवाको जागरण बाघ–चितुवाको संरक्षण’ भन्ने नारासहित बाँकेको कोहलपुरमा आयोजना गरिएको चौथो समुदायमा आधारित चोरी सिकार नियन्त्रणमा युवा जागरण अभियानमा एक हजारभन्दा बढी युवा सहभागी भए।
निकुञ्ज प्रशासन, निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासका कारण बाँके राष्ट्रिय निकुञ्जमा चोरी सिकार शून्यको अवस्थामा रहेको युवा जागरण अभियान बाँकेका संयोजक कृष्ण चौधरीले बताए।
सो अवसरमा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनले बाँके राष्ट्रिय निकुञ्ज पाटेबाघको उयुक्त बासस्थान बन्दै गएको बताए। बाँके राष्ट्रिय निकुञ्जमा १३ वटा पाटे बाघ छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।