काठमाडौं- प्रधानन्यायाधीश र न्यायालय विरुद्ध अवहेलना हुनेगरी अभिव्यक्ति दिएको भन्दै प्रा डा गोविन्द केसी विरुद्ध चौथो अवहेलना मुद्दा दायर भएको छ।
सर्वसाधारण नागरिकका तर्फबाट १६ फागुनमा गोविन्द बोहोराले केसी विरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन्। उक्त मुद्दा आइतबार शारदाप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको छ।
यसअघि झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालका दुर्गा प्रसाईंले केसी विरुद्ध पहिलो अवहेलना मुद्दा दायर गरेका थिए। मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारण गर्ने अधिकार मेडिकल काउन्सिलको भएको भनी सर्वोच्चबाट जारी भएको आदेशलाई डा केसीले अनसन मार्फत चुनौती दिएको दाबी गर्दै अवहेलना मुद्दा गरिएको थियो। उक्त मुद्दा अन्तिम सुनुवाइको क्रममा छ।
दोस्रो अवहेलना मुद्दा सर्वोच्च आफैंले टिप्पणी उठाएर दायर गरेको मुद्दा थियो। डा केसीले प्रधानन्यायाधीश पराजुलीलाई माफियाको नाइके भनी अनसनको घोषणा गरे लगत्तै टिप्पणी उठाएर सर्वोच्चले अवहेलना मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा उनलाई प्रहरी लगाएर अदालत उपस्थित गराइएको थियो। अदालतमा समेत केसीले सोही बयान दिएपछि सर्वोच्चले प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि माग्ने आदेश गर्दै केसीलाई साधारण तारेखमा रिहा गरेको थियो।
तेस्रो अवहेलना मुद्दा काठमाडौं नेसनल मेडिकल कलेजका सञ्चालक जैनुद्दिन अन्सारीले हालेका थिए। उक्त मुद्दामा स्वास्थ्य खबर पत्रिका र कान्तिपुरसँगै केसीलाई समेत विपक्षी बनाइएको थियो।
मापदण्ड नै नपुगेको मेडिकल कलेजलाई सम्बन्धन दिएको भनी केसीले न्यायालयको आडमा यस्तो भ्रष्ट कार्य भएको टिप्पणी गरेका थिए। उक्त भनाइ प्रकाशन/प्रशारण गरेको भन्दै केसीसहित अन्यलाई मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा केसीसहित विपक्षीहरुले अदालत उपस्थित भएर लिखित जवाफ पेश गरिसकेका छन्। उक्त मुद्दामा दोस्रो सुनुवाइको पेशी हालसम्म तोकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।