काठमाडौं- प्रतिनिधिसभा सांसदहरुले आज सपथ ग्रहण गरेका छन्। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद् भवनमा प्रतिनिधिसभाका सांसदहरुले सपथ लिएका हुन्।
ज्येष्ठ सदस्यका रुपमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले सांसदहरुलाई सपथ गराएका थिए। सांसदहरुले विभिन्न १० भाषामा सपथ ग्रहण गरेको संसद् सचिवालयले जनाएको छ। सपथ कार्यक्रममा कतिपय सांसदहरु आफ्नो जातीय वेशभूषामा संसद् भवन पुगेका थिए।
प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवालले समेत सपथ लिएका छन्। सपथका लागि सिलवाल पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालको गाडीमा संसद् भवन आएका थिए।
सपथको समय अपराह्न ४ बजे तोकिए पनि सांसदहरु ढिला आएकाले करिब आधा घन्टापछि मात्र सपथ कार्यक्रम सुरु भएको थियो।
सपथमा राष्ट्रिय मान्यता पाएका दल एमाले, माओवादी केन्द्र, कांग्रेस, संघीय समाजवादी फोरम र राजपा नेपालका सांसदका साथै स्वतन्त्र हैसियतमा चुनाव जितेका सांसदहरु समेत उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।