काठमाडौं – मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २बाट साझा पार्टीको उम्मेदवार बनेकी रजनी केसीले आफू विजयी हुने दाबी गरेकी छन्।
२१ उम्मेदवार चुनावी मैदानमा रहेको कास्की क्षेत्र नं. २ क्षेत्रमा उम्मेदवारी घोषणा र प्रचार प्रसारमा साझा पार्टी पहिलो भएको थियो। कास्की क्षेत्र नं. २मा साझा पार्टीले कांग्रेस र कम्युनिष्टसँग आफ्नो कडा प्रतिष्पर्धा हुने दाबी गरेको छ।
जनमत आफ्नो पक्षमा पार्न साझाका नेता तथा कार्यकर्ता मतदाता भेटघाट तथा घरदैलो प्रचारमा व्यस्त छन्। साझाकी उम्मेदवार रजनी के.सीको सक्रियता बढ्दो छ। पहिलो चरणको घरदैलो प्रचार सकिएको केसीले जानकारी गराइन्। हरेक दिन बिहानदेखि साँझसम्म टोलटोलमा मतदाताकोमा पुग्ने गरेको केसीले बताइन्। उनले भनिन्,‘खेतमा धान काट्दै गरेका मतदाता हुन् वा होटल पसल व्यवसाय गरिरहेका मतदाता सबै सामु पुगेकी छु।’
घरदैलो पश्चात् हरेक वडामा कोण सभा गरेको साझाले केन्द्रीय नेताहरु समेत पोखरामा उतारेको छ। साझा पार्टीले चुनावी सभा, भेला, जनतासँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ।
निर्वाचन आयोगले तोकेको सिलिङ भन्दा बढी चुनावी खर्च नहुने पार्टीले स्पष्ट पारेको छ। केसीले भनिन्,‘भड्किलो प्रचार शैली हाम्रो छैन। मकै भटमास र समोसा खाएरै कार्यकर्ताहरु चुनाव प्रचारमा होमिएका छन्।’
प्रमुख राजनीतिक दलहरुले चुनावलाई तडक भडक गरेको आरोप लगाएको साझाले प्रचारलाई खर्चिलो नबनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
लोककल्याणकारी राज्य,सेवक सरकार तथा सुशासनको प्रमुख एजेण्डा रहेको केसीले बताइएन्। केसीले आफ्नो जित सुनिश्चित रहेको दाबी समेत गरिन्। उनले भनिन्,‘दलहरु पटक पटक सत्तामा गए पनि कुनै उल्लेख्य काम गर्न सकेका छैनन्। पोखरेली मतदाताले विकल्प खोजी रहेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।