दाङ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको आराेप लगाएका छन्।
रिपोर्टस क्लब दाङले साेमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले सत्तावादीहरुले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै लगेकाे बताए। द्वन्द्वकालमा ठूलो लडाइँ लडेर नेपाली कांग्रेसले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै नेता पौडेलले भने, “हामीले ठूलो लडाइँ लेडर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ तर अहिलेको सरकारले यसलाई उल्टो गतितर्फ लैजान खोजिरहेको छ।”
वर्तमान सरकार वंश परम्परा र नातावादको स्थापनालाई महत्व दिएर अहिलेको चुनावमा जुटेको उनकाे भनाइ थियो। नेता पौडेलले अहिले कम्युनिष्ट सरकारको विरुद्धमा नेपाली काँग्रेस देशभरि चुनावी अभियानमा जुटेको भन्दै जनतालाई भएभरका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको बताए।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले उपनिर्वाचनपछि अहिलेको सरकारले गरेको ज्यादतीको पर्दाफास हुने बताए। उनले भने, “दुई तिहाईको सरकारले गरेको ज्यादती र भ्रष्टाचारको पर्दाफास उपनिर्वाचनपछि हुनेछ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।