काठमाडौं- अदालतको अवहेलना मुद्दामाथि बयान दिन कान्तिपुर दैनिकका प्रकाशक कैलास सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधिर शर्मा र संवाददाता कृष्ण ज्ञवाली सर्वोच्च अदालत पुगेका छन्।
गत शुक्रबार नै अदालत उपस्थित हुने मिति तोकिएको भए पनि उक्त मितिमा समय अभावका कारण अदालतले पेशी सारेको थियो।
'सरकारी कागजातमै प्रधानन्यायाधीश गोपाल पराजुलीका चार जन्ममिति' लगायतका समाचारले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता तोयनाथ ढुंगानाले दायर गरेको अवहेलना मुद्दामा तीन दिनभित्र आफैं उपस्थि हुनु भनी सर्वोच्चले आदेश जारी भएको थियो।
सर्वोच्चले फागुन ११ मा जारी गरेको आदेशको लिखित दुईदिन पछि फागुन १३ मा मात्र सार्वजनिक गरिएको थियो। आदेशमा प्रेस काउन्सिललाई पनि आचारसंहिता पलना गराउने विषयमा कडाइका साथ कार्यान्वयनमा ल्याउन भनिएको थियो। प्रधानन्यायाधीश गोपाल पराजुलीसँग जोडिएका समाचारका आधारमा यो कान्तिपुर विरुद्ध परेको तेस्रो अवहेलना मुद्दा हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।