पर्वत- जलजला गाउँपालिकामा लामो समयदेखिको केन्द्र विवाद समाधान भएको छ।
उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र राख्ने विषयमा जनप्रतिनिधिबीच भएको विवाद मिलेको हो। साविकको माझफाँट गाविसको कार्यालयबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको केन्द्र अब सोही गाविसको लामाखेतमा सर्ने भएको छ। हालै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लामाखेतमा केन्द्र तोक्ने निर्णय गरेपछि विवाद समाधान भएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए।
गाउँपालिकाका स्थानीयवासीले माझफाँट केन्द्र हुँदा अपायक भएको र अन्य वडाका नागरिकले सास्ती खेप्नुपरेको भन्दै आन्दोलनसमे गरेका थिए। गाउँपालिका अन्तर्गत साबिक नाग्लिवाङ, धाइरिङ, बनौं, शालिजा र माझफाँटकै तल्लो क्षेत्रका बासिन्दा आन्दोलित बनेका थिए। अहिले चलिरहेको गाउँपालिकाको केन्द्रमा पुग्न करिब ६ देखि ७ घन्टा पैदल धाउनुपर्ने र अपायक हुने भन्दै जनप्रतिनिधिले विरोध गर्दै आएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।