धनगढी- बझाङको ठाँनाकोटमा माटोको ढिस्कोले पुरिएर २ जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट गाँउकी ३० वर्षीया रतनादेवी पाध्या र २८ वर्षीया सरितादेवी जोशी छन्। घर पोत्न रातो माटो निकाल्न खोज्दा शनिबार माटोको ढिस्कोले पुरिदाँ उनीहरुको घटना स्थलमै मृत्यु भएको हो।
ढिस्कोले पुरिँदा माटो खन्न लागेका अन्य दुई महिला पनि घाइते भएका छन्। खप्तड छान्ना गाँउपालिका ३ कै सरस्वती पाध्या र किणी पाध्या घाइते भएको स्थानीय मनोहर पाध्यले जानकारी दिए। घाइते सरस्वती पाध्याको टाउको र छातीमा चोट लागेकाले अवस्था चिन्ताजनक रहेको बताइएको छ। घाइते दुवैको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ। ढिस्कोमा पुरिएका महिलाको शव स्थानीय बासीहरुले निकालेका थिए।
शनिबार बिहान गाउँ नजिकै रहेको ठानाकोटमा रातो माटो निकाल्न महिलाहरुको समूह गएको थियो। मृतक दुवै महिलाका श्रीमान् रोजगारीका लागी भारत गएका छन्। श्रीमानलाई खबर भइसकेको स्थानीयले जनाएका छन्। मृतक रतनादेवी पाध्याका ५ वर्षीया, साढे ३ वर्षीया र २ वर्षीया छोरी छन्। यस्तै, सरितादेवी जोशीको पनि २ वर्षीया छोरी छिन्।
माटो खन्न गाउँका १०-१२ जना महिलाको समूह ठाँनाकोट गएको थियो। समूहका अन्य महिला भने सकुशल छन्। पुरिएका महिलाको उद्धार गर्न स्थानीय बासिन्दा र छान्ना प्रहरी चौकीबाट प्रहरीको टोली खटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।